माओवादी मन्त्री थापाले जाँदाजाँदै १ सय ३८ लाई जागिर खुवाए

दिपक के श्रेष्ठ

माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिनु अगावै १ सय ३८ जनालाई मन्त्रालयअन्तरगत विभिन्न विभागमा नियुक्त गरेका छन् ।

माओवादी केन्द्रले बुधबार संसदीय दलको बैठकमार्फत पार्टीकोतर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्री थापा र आन्तरीक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राजीनामा दिएका थिए । २५ गते राजीनामा दिएको भोलिपल्ट मन्त्रालयले १ सय ३८ जनालाई नियुक्त गरेको सूचना जारी गरेकाे छ ।

‘विज्ञापन अनुसार नै सबै कुरा प्रक्रियामै थियो’ मन्त्रालयका एक कर्मचारीले भने ‘तर मन्त्रीज्यू बाहिरिने छाँट आएपछि २६ गते सूचना प्रकाशन गर्ने तरिकाले सबै काम सल्टाइयो ।’ मन्त्रालयले नियुक्त पाएका सबैलाई ७ दिनभित्र मन्त्रालयमा सम्पर्क गर्न सूचनामा उल्लेख गरेको छ ।

नियुक्ति पाउनेमध्ये एकजना राधिकाकुमारी भण्डारी रहेकी छिन् । जसको ठेगाना मटेला–९ बझाङ हो । त्यस्तै शंकर उखेडाको ठेगाना बडिमालिका–१२ बाजुरा रहेको छ । यसैगरी, गण्डकी बाहिरबाट सुमन कुँवर–दाङ, राजेन्द्रसिंह महरा–दार्चुला, अंशु प्रधान–विराटनगर, सुरज गौतम–काठमाण्डौं, राजन लम्साल–धादिङ र श्रीकृष्ण गौतम–खलङ्गा रहेका छन् ।

मन्त्रालयले विभिन्न पदकालागि पुस ८ गते विज्ञापन प्रकाशित गरेको थियो ।

हाल रिक्तमध्ये कृषि मन्त्रालयको जिम्मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएका छन् भने कानून मन्त्रालयको जिम्मा भौतिक पुर्वाधार विकासमन्त्री रामशरण बस्नेतलाई दिइएको छ ।

कमेन्टहरु
Loading...