पोखरा । नेपाली अग्रज खेलाडीको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपाल आफ्नो वार्षिक योजना सहित अगाडि बढ्ने भएको छ । मञ्चको शनिबार पोखरामा सम्पन्न पूर्ण बैठकले आगामी १६ औं सस्करणको पोखरा म्याराथनको तयारी लगायत पोखरा म्याराथनलाई विश्वका दौड छाता संस्था एम्समा दर्ता गर्ने तयारीका लागि समेत छलफल गरेको हो ।
मञ्चले पोखरा म्याराथनलाई विश्वव्यापी बनाउन सन २०२४ मा दर्ता गर्न आफ्नो वेवसाइट र मोबाइल एप्सलाई सूचना प्रविधी मैत्री बनाउनेमा जोड दिइएको मञ्चका अध्यक्ष तथा गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिव तेज गुरुङले बताएका छन् ।
बैठकमा १६ औं सस्करणको पोखरा म्याराथनलाई भव्य बनाउने सँगै पुरस्कारको राशी समेत बढाउने विषयमा छलफल भएको अध्यक्ष गुरुङले जनाकारी दिएका छन् । उनले भने, ‘हामी १६ औं सस्करणको तयारीलाई अझै भव्य बनाउन र अन्तर्राष्ट्रिय धावकलाई आकर्षण बढाउन पुरस्कार राशि थप्ने विषयमा गहन गहन छलफल भएको छ ।’
बैठकले पोखरा म्याराथन सँगै आयोजना हुने महिला हाफ म्याराथन, १० किमि महिला–पुरुष दौड, छात्र–छात्रा ५ किमि दौड तथा दृष्टिविहिन र ह्विल चियर महिला पुरुष दौडलाई अझै परिस्कृत र भव्य बनाउने तयारीका बारेमा समेत छलफल भएको उनले बताए ।
मञ्चको सम्पन्न बैठकले अध्यक्ष गुरुङलाई गण्डकी प्रदेश खेलकूद परिषदको गरिमामय पदमा नियुक्त गरेकोमा गण्डकी प्रदेश सरकारलाई आभार व्यक्त गर्दै सफल कार्यकालको लागि बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
सम्पन्न बैठकमा मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, द्वित्तीय उपाध्यक्ष दिलबहादुर गुरुङ, महासचिव खेम गुरुङ, सचिव कृष्ण तिमिल्सिना लगायत कार्यसमितिका सदस्यले मञ्चको वार्षिक योजना तर्जुमा सँगै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मञ्चले यही चैत्र १४ गते पोखरा म्याराथन अन्तर्गत सम्पन्न महिला–पुरुष १० किमी दौडमा सहभागी खेलाडी, सम्पूर्ण सहयोगी तथा सञ्चारकर्मीलाई आभार समेत व्यक्त गरेको छ ।