काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली कांग्रेसले गरेको निर्णय सह्रानीय भएको बताउँदै प्रशंसा गरेका छन् ।
नेपाली कांग्रेसले हिजो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकारको विकल्प खोज्ने निर्णय गरेको थियो । कांग्रेसको सोही निर्णयलाई जसपाका अध्यक्ष भट्टराईले सह्रानीय कार्य भन्दै प्रशंसा गरेका हुन् ।
हिजोको निर्णयले कांग्रेसले प्रतिपक्षीय भूमिका निर्वाह गर्ने संकेत मिलेको उनको भनाई छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् डा.भट्टराईले अन्य दललाई समेत आफ्नो कर्तव्य नभुलेर छिटो निर्णय लिन आग्रह गरेका छन् ।
‘अन्ततःप्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सह्रानीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता/प्रथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।