एमाले नेता नेपाल समुहको संगठन विस्तार तथा सुदृढीकरण अभियान भोलिबाट सुरु हुने

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल तथा उनको समुहले संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । नेपाल समुहका स्थायी कमिटी सदस्यको बैठकले सोही अभियान अन्तरगत भोलि घोषणा गर्ने योजना बनाएको छ । आज बसेको उक्त समुहले काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट पारित गरिएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय गरेको छ ।

यस्तै अगाडि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपालसहित, भीम रावल, घनश्याम भुसाल तथा सुरेन्द्र पाण्डेलाई गरेको कारवाहीको समेत भत्र्सना गरेको छ । बैठकमा नेपाल समुहका नेताले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले नेतालाई कारवाही स्वरुप ६ महिनाका लागि निलम्बन गर्दा उनी पार्टी फुटाउन अग्रसर छन् भन्ने पुष्टि भएको आरोप लगाएका छन् ।

बैठकमा उक्त समुहका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली एमालेलाई विभाजन गर्न लागिरहेको आफूहरुको निष्कर्ष भएको बताए । पार्टीका नेतालाई निरन्तर कारवाही गरेपछि उनी पार्टी फुटाउन लागिरहेछन् भन्ने पुष्टि भएको नेता भट्टराईको आरोप रहेको थियो । ओलीको निर्णयलाई आफ्नो समुहले भत्र्सना तथा निन्दा गर्ने समेत उनले स्पष्ट पारेका छन् ।

नेपाल समुहका अर्का नेता भीम रावलले पनि आफूसहितका पार्टीका नेतालाई कारवाही स्वरुप निलम्बन गरेर तानाशाही लाद्ने काम गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली निरंकुश तथा स्वच्छाचारी चरित्रको व्यक्ति भएको उनको आरोप छ ।

ओलीको कारवाही मुलुकको कम्युनिस्ट आन्दोलनलाई नै लज्जित बनाउने खालको भएको समेत उनले बताएका छन् । आफूहरुले ओलीविरुद्धको पाइला चालिसकेको र त्यसलाई झन् सशक्त बनाएर अगाडि बढाउने उनको भनाई छ ।

पार्टीको हित विपरीत विभिन्न कार्य गर्दै आइरहेको र स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टीका विरष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, नेता घनश्याम भुसाल तथा सुरेन्द्र पाण्डेलाई निलम्बन गरेका थिए । तर नेपाल समुहका नेताले भने ओलीले गरेको कारवाहीको कुनै अर्थ नभएको बताउँदै आएका छन् ।

कमेन्टहरु
Loading...