युनियनसँग कुरा नमिलेपछि संगठनबाट कास्कीमा तिमिल्सिनाले उम्मेदवारी दिने

गन्थन डेस्क

यही २५ गते हुने पत्रकार महासंघको चुनावमा विभिन्न संगठनबीच समीकरणको तयारी भइरहेको छ । यसैबीच, पत्रकार महासंघ कास्कीमा पनि नेपाली कांग्रेस समर्थित प्रेस युनियन र नेकपा माओवादी केन्द्र समर्थित प्रेस संगठनबीच तालमेलको प्रयास भएपनि अन्ततः समीकरण हुन सकेन ।

समीकरणमा मुख्यतः भागबण्डा नमिलेपछि युनियन र संगठन अलगअलग चुनावमा जाने भएका छन् । युनियन कास्की र संगठन कास्कीबीचको तालमेल नमिल्दा संगठनकोतर्फबाट महासंघ कास्कीको अध्यक्षमा रामप्रसाद तिमिल्सिनाले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

उनको उम्मेदवारीको पुष्टि गर्दै संगठन कास्कीका संयोजक सन्देश श्रेष्ठले अझैपनि वार्ता र समीकरणको ढोका बन्द नभएको बताएका छन् । कास्कीमा संगठन र युनियनबीच समीकरण भए सदस्य संख्याको आधारमा कास्कीको नेतृत्व लिन सक्ने सम्भावना प्रबल छ । संयोजक श्रेष्ठले भने, ‘समीकरण पक्काजस्तै थियो, तर अन्तिममा पद बाँडफाँडमा कुरा मिलेन ।’

निर्वाचनको प्रक्रिया आइतबारदेखि सुरु हुनेछ । देशभर एकैसाथ हुने निर्वाचनकालागि केन्द्र र प्रदेशको उम्मेदवारी दर्ता भइसकेको छ ।

कमेन्टहरु
Loading...