दिपक के श्रेष्ठ
देशभर चल्तीमा रहेका रेष्टुरेन्ट, बार र लाउन्जहरुले किशोर उमेरका केटाकेटी र युवा युवतीमाझ खुल्लमखुल्ला मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य चुरोट एवं हुक्काको प्रचार प्रसार गरिरहेछ ।
सम्बन्धित व्यापारिक संस्थाले आफ्नो फेसबुक पेज र प्रायोजित पेजमार्फत देशैभर आकर्षक विज्ञापन र तस्बिरका माध्यमबाट गर्ने प्रचारले अचेल बार र लाउञ्जमा युवायुवती झुम्मिएको देखिनु सामान्य भएको छ । आयमूलक कर्ममा लाग्नु अगावै ‘पार्टी एनिमल’ बन्ने बाटोमा लाग्न यस्तै पेजहरुले उत्प्रेरक भूमिका खेलेका छन् ।
पोखराको लेकसाइड र पामे क्षेत्रमा खुलेका रेष्टुरेन्ट र बारहरुले सामाजिक सञ्जालमा छरपस्ट फिँजाएको तस्बिर हेर्दा त्यहाँ यस्तै उमेर समूहको बाहुल्यता देखिन्छ । यस्तै तस्बिरले उनीहरुको व्यापार, व्यवसायको प्रचारमात्र गर्दैन भर्खर युवावस्थामा लाग्दै गरेका समूहलाई पनि ‘लत’ बसाइरहेको छ ।
जुनसुकै व्यापार/व्यवसायलाई प्रवद्र्धन गर्न बिना विज्ञापन सम्भव छैन । विज्ञापनको संसारमा अहिले सामाजिक सञ्जाल अगाडी छ । यही सञ्जालको मुख्य प्रयोगकर्तामा युवा वर्गको बाहुल्यता छ । यही सञ्जालमार्फत आउने गर्छन् धुवाँ र मदिरामा लट्ठिएका युवा/युवतीहरुको तस्बिर ।
सामाजिक सञ्जालमा प्रायोजितरुपमा आउने विज्ञापन र तस्बिरलाई निश्चित स्थान र उमेर समूहलाई लक्षित गरी प्रचारप्रसार गर्न मिल्ने हुँदा नचाहँदैमा कसैले त्यसलाई हेर्नबाट रोक्न मिल्दैन । सोही कारण यस्ता पेजहरु बढी प्रभावकारी भएका छन् ।
रेष्टुरेन्ट एवं बारका यस्ता प्रचारमूलक सामग्री आफुले पनि सामाजिक सञ्जालमा निरन्तर देखेको बताउँदै उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले यसलाई ‘जटिल विषय’को संज्ञा दिए ।
इन्टरनेटको माध्यमबाट आउने प्रायोजित विज्ञापनले एकातिर देशको पैसा बाहिरिने र अर्काेतिर सामाजिक क्षति बढ्ने उनको चेतावनी छ ।
‘व्यवसायीले नाफा कमाउँदा सामाजिक र व्यक्तिगत घाटा बढेको छ’ कोइराला भन्छन् ‘विज्ञापनदाताले उपभोक्ताको स्वास्थ्यमा पारेको असरको क्षतिपुर्ति भर्नुपर्छ ।’ तस्बिर र भिडियोको प्रभावले उपभोक्ता
कालान्तरमा दुव्र्यसनी भएको प्रशस्तै उदाहरण यही समाजमा भएको उनले दाबी गरे ।
सम्बन्धित निकायले विज्ञापन र व्यवसायको प्रकार र उसले गर्ने बजारीकरणको स्पष्ट मापदण्ड बनाउँन नसक्दा उपभोक्ताको स्वास्थ्यमा असर परेको बताउँदै उनले यस विषयमा जिल्लास्थित सरोकारवाला नियकासँग छिट्टै छलफल गर्ने बताए ।
बजार अनुगमन र नियमनलेमात्रै यस्ता प्रायोजित सामग्रीलाई रोक्न सकिने उनको ठहर छ ।
सामाजिक सञ्जालको प्रभाव सबैभन्दा बढी भएको स्वीकार्छन् वरिष्ठ मनोचिकित्सक निर्मल लामिछाने ।
‘पहिले पहिले सञ्चारमाध्यममा रक्सी, चुरोटको विज्ञापन आउथ्यो’ लामिछानेले भने ‘सामाजिक र व्यक्तिगतरुपमा त्यसको दूरगामी असर परेको भएर नै रोकिएको हो ।’
विश्वमै रोकिएको त्यस्तो विज्ञापन अहिले सामाजिक सञ्जालमा छरपस्ट हुनु चिन्ताको विषय भएको उनको ठम्याई छ ।
‘सोसल मिडियालाई अनुशरण गर्ने, त्यहीबाट सिक्नेको संख्या ठूलो छ’ उनले भने ‘यही मिडियामा रक्सी र चुरोट सेवनको तस्बिरले युवावर्गलाई ध्वस्त बनाउँदैछ । ‘यस्ता पेज र विज्ञापन बन्द गर्नुपर्छ’ लामिछानेको सटिक भनाई छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतम यस विषयमा प्रशासन गम्भीर भए पनि कानूनी बाटोबाट अघि बढ्नु पर्ने बाध्यात्मक स्थिति भएको बताउँछन् ।
‘पक्कैपनि यस्ता प्रायोजित र लक्षित विज्ञापन सरकारी मापदण्ड विपरित छन्’ प्रमुख गौतम भन्छन् ‘कुनै उजुरी नपरी हामी एक्सनमा जान मिलेन ।’
खुलेआम मदिरा र सुर्तिजन्य पदार्थ सेवन गरेको भिडियो वा तस्बिर सार्वजनिक गर्न नमिल्ने गौतमको ठहर छ । उनले कानूनतः ‘नमिल्ने’ समेत भनेका छन् ।
यही विषयमा केही अघि आफुले चासो लिएको बताउँदै उनले मिडियाले यस्तो विषयवस्तु उठाएपछि सम्बन्धित निकायले थप चासो लिने जनाए ।
व्यवसायीले कमसेकम मदिरा र सुर्तिजस्ता पदार्थको बिक्रीमा ‘वैधानिका प्रावधान’ उल्लेख गर्नुपर्ने गौतमको भनाई छ ।