पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विस्तारै औचित्य पुष्टि हुँदै जाने बताएका छन् । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताएका हुन् ।
प्रेस चौतारी पाँचथरले आज फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले ३ दर्जनभन्दा बढी विधेयकले पेश हुने ‘लाइन’ मा रहे पनि संसद्मा पेश हुन नसक्ने अवस्थाले संसद्ले प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बताए ।
‘कि त यो सरकार नै बाँकी २ वर्ष चल्छ, वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ ।’ बस्नेतले दावी गर्दै भने, ‘मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुम्छ ।’ उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसंगति अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेतालाई कारवाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।
‘जनवादका नाममा अराजकता स्वीकार्न सकिन्न ।’ बस्नेतले भने, ‘कारवाहीमा पर्नुभएका नेतालाई सच्चिएर पार्टीको मूल नेतृत्वमा फर्कने अवसर दिइएकै छ ।’ पत्रकार भेटघाटमा राष्ट्रिय युवा संघका अध्यक्ष बच्चनबहादुर सिंहले सङ्घले युवाहरूलाई उत्पादनमा जोड्ने कार्यक्रम अगाडि बढाउने बताएका छन् । रासस