पोखराको वडा ३० मा कोरोना संक्रमितले ठेगाना ढाँट्दा पहिचान गर्न मुश्किल

दिपक के श्रेष्ठ

पोखरा महानगरअन्तरगत वडा नम्बर ३० शिसुवा खुदी क्षेत्रमा सोमबार र मंगलबार अन्यत्र भन्दा बढी कोरोना संक्रमित पुष्टी भएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएअनुसार उक्त वडाको १९ जनामा संक्रमण पुष्टी भएको छ । पुष्टी हुनेको उमेर १९ देखि ८३ वर्षसम्म रहेको छ । कोरोनाको दोस्रो लहर केही कडा भएको जानकारले बताएका छन् ।

वडाभित्र कसरी संक्रमण फैलियो भन्नेमा वडाध्यक्ष श्रीराम पोख्रेल हैरान छन् । सोमबार वडामा संक्रमित देखिएको सूचना पाएपछि वडाध्यक्ष पोख्रेल संक्रमित पहिचान गर्न जुटेपनि कुनै भेउ पाउन सकेनन् । उनले महानगरको स्वास्थ्य विभागबाट संक्रमितको नामावली झिकाएर खोजी गर्दा पनि भेट्न नसकेको प्रतिक्रिया दिए ।

‘पोखरा विश्वविद्यालय आसपासका मान्छे हुन् भन्ने अपुष्ट सूचना छ’ अध्यक्ष पोख्रेलले भने ‘पिसिआर टेष्ट गराउन ठेगाना टिपाउँदा गलत दिएका कारण पहिचान गर्न सकस भएको छ ।’ संक्रमितहरुको उमेर ६० भन्दा माथि रहेकाले वडामा संक्रमणको डर झनै बढेको उनले जनाए ।

हाल संक्रमितहरु होम आइशोलेसनमा छन् वा अन्यत्र भन्ने थाहा पाउनै मुस्किल छ । ‘३० नम्बर वडा भनेका छन्, न नाम मिल्छ न उमेर’ उनले भने ‘गलत सूचना टिपाउँदा उनीहरुले आफ्नो दायित्व भुले ।’ दुई दिनभर धुइँपत्ताल खोजी गर्दा बल्ल एकजनाको पहिचान गर्न सकेको पोख्रेलले बताए ।

वडावासी को–कहाँ जान्छन् थाहा नहुने भन्दै उनले केही दिन अघि सहकारीको एक समूह भ्रमणमा निस्केको र उनीहरुबाटै संक्रमण भित्रिएको हो कि भन्ने उनको झिनो शंका छ । वडाध्यक्ष पोख्रेलले भने ‘संक्रमण हुनु सामान्य हो, कृपया कसैले पनि नढाँट्नुहोला, वडा कार्यालयले सहयोग गर्नेछ ।

संक्रमितहरुको पहिचान गर्न वडा सदस्यहरु लाग्ने बताउँदै उनले वडावासीलाई मास्क र स्यानीटाइजरको प्रयोग गरी दुरी कायम गर्न अपील गरेका छन् ।

कमेन्टहरु
Loading...