खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता हुने

पोखरा । कास्की जिल्ला टेबुलटेनिस संघको मंगलबार बसेको बैठकले आगामी चैत्र २४ गते (अप्रिल ६, २०२१) विश्व टेबुलटेनिस दिवसको अवसरमा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि कार्यक्रम संयोजकमा सचिव फणिन्द्र तिमिल्सिनालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

कास्की जिल्ला स्तरीय उक्त प्रतियोगितामा १६ वर्ष मुनि र १६ वर्षमाथिको उमेर समुहमा विभाजन गरी खेल खेलाइने छ भने विजेता दुवै तर्फका प्रथम, दित्तीय र तृत्तीयलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने तिमिल्सिनाले बताए ।

बैठकले तुलसीपुर युथ क्लबको आयोजनामा दाङमा हुन गइरहेको टेबलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट सहभागी हुन एक जना अफिसियल र ४ जना खेलाडी छनौट गरेको छ । अफिसियलमा संघका कार्यसमिति सदस्य कृष्ण रानाभाट र खेलाडीहरुमा दिपकराज गिरी, अनिसा गौतम, अंकीता गुरुङ र सुलभ केसी रहेका छन् ।

साथै बैठकले २०७८ सालको क्यालेण्डर प्रकाशनको लागि संयोजकमा कृष्ण रानाभाट र सदस्यमा सुरेश केसीलाई जिम्मेवारी प्रदान गरेको छ । सुरेश केसीलाई बैठकले संघको सल्लाहकारमा नियुक्त गरेको छ ।

संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव फणिन्द्र तिमिल्सिनाले गरेका थिए ।

कमेन्टहरु
Loading...