काठमाडौं । नेकपा एमाले यति बेला विभाजनको संघारमा पुगेको छ ।
विशेष गरी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका वरिष्ठ नेता माधावकुमार नेपाल र झलनाथ खनालबीच पार्टीका विभिन्न विषयलाई लिएर मतभेद उत्पन्न भइरहेको छ । सर्वोच्चले नेकपा खारेज गरेर नेकपा एमाले तथा माओवादी केन्द्रलाई पुनः ब्युँत्याएपछि एमालेमा नै फर्किएका नेतासंग पार्टी अध्यक्ष ओलीको मतभेद छ ।
यसैबीच प्रतिनिधिसभा विघटन पश्चात् संयुक्त रुपमा प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न कार्यक्रमको आयोजना गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटले लगातार निरन्तरता पाइरहेको छ ।
यहीबीच आज पनि उनीहरुबीच भेट भएको छ । यी दुवै नेताबीच कोटेश्वरका व्यापारीको घरमा भेटवार्ता भएको हो । भेटमा एमाले नेता नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
नेकपा एमाले औपचारिक रुपमा घोषणा नभए पनि करिब–करिब विभाजनको अवस्थामा पुगिरहेको अवस्थामा यसरी बारम्बार यी २ नेताबीच गोप्य भेट हुनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
उनीहरुले दुवै नेता बीच यस अगाडि पटक–पटक गोप्य रुपमा काठमाडौंकै विभिन्न व्यवसायीको घरमा भेट भएको समाचार आएका थिए ।