काठमाडौं । काठमाडौंवासीका लागि सपना बनेको मेलम्चीको पानी आजदेखि सीमित स्थानमा वितरण शुरु भएको छ । आइतबार काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर एउटा बहुप्रतिक्षित योजनाको परिणाम जनताका बीचमा पुर्याइएको हो ।
उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गरेका हुन् ।
हाल पुराना पानीपोखरीहरुमा सिन्धुपाल्चोकको मेलम्चीबाट ल्याइएको पानी भरेर पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइन परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेएलले जनाएको छ ।
यस्तो छ पानी वितरण तालिका
पहिलो चरणमा चार करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने जनाइएको छ । आइतबारदेखि देवकोटा सडक, बत्तिसपुलली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोटहाइट, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण गरिएको केयूकेएलले जनाएको छ ।