दिपक के श्रेष्ठ
म्यानमारमा सेनाले शासन आफ्नो हातमा लिएपछि शनिबार सय बढी नागरिक मारिएका छन् । जसमध्ये माण्डलेमा सेनाले गरेको कारवाहीले सबै हद पार गरेको छ ।
सेनाको रात्रीकालीन गार्डले माण्डलेको मिन्तेइकिन क्षेत्रमा ४० वर्षीय अए कोलाई जिउँदै आगोमा जलाएका छन् । अएलाई सेनाले पहिले गोली हानेको थियो । त्यसपछि उनीहरुलाई अवरोध गर्न बालिएको टायरमा उनलाई जिउँदै राखेर जलाइएको स्थानीयलाई उद्धृत गर्दै त्यहाँको अनलाइन एजेन्सी म्यान्मार नाउले जनाएको छ ।
त्यस क्षेत्रमा शनिबार रातको ९ बजे मिन्तेइकिन वार्डमा अपरिचित व्यक्ति आएर आगो लगाउन सुरु गरे । त्यसपछि ज्यान बचाउँन बाहिर भाग्दा अएमाथि सेनाले गोली हान्यो । गोली लागेर घाइते भएपछि उनलाई बलिरहेको टायरमाथि राखिएको एजेन्सीले जनाएको छ ।
‘हेल्प मी मदर (आमा, मलाई बचाउ)’ बलिरहेको आगोबीच अएले भनेका थिए । तर सेनाले निरन्तर गोलीबारी गरेकाले कोही पनि उनलाई बचाउन बाहिर निस्कन सकेनन् । सोहीबेला सेनाले अर्का एक व्यक्तिलाई समेत गोली हानेर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएको म्यान्मार नाउमा उल्लेख छ ।
शनिबार म्यान्मारको ४० सहरमा १ सय १४ नागरिक मारिएका छन् । फ्रेबुअरी १ मा ‘कू’मार्फत सेनाले शासन हत्याएपछि म्यान्मारमा ४ सय बढीको मृत्यु भइसकेको छ भने करिब २५ सय हिरासतमा छन् । शनिबार म्यान्मारको ७६ औं सेना दिवस रहेको थियो ।
तस्बिर स्रोतः म्यान्मार डट नाउ