दिपक के श्रेष्ठ
कास्कीको माछापुच्छ्रे गाउँपालिकाअन्तरगत वडा नं. ४ लाहाचोकमा भेटिएका कोरोना संक्रमितहरु घरमै बसेका छन् ।
संक्रमितहरुलाई अन्यत्र लैजानभन्दा घरमै सुरक्षित हुने भन्दै उनीहरुलाई सरकारी आइशोलेसन सेन्टर नपठाइएको हो । लाहाचोकमा १६ जना संक्रमित भेटिएका छन् । लाहाचोक गाउँपालिकाको कार्यालय रहेको वडा पनि हो ।
लाहाचोकस्थित एक सहकारीको भ्रमणमा गएर फर्केकाहरुमा कोरोना भाइरसको आशंका गरिएपछि उनीहरुको पिसिआर परीक्षण गराइएको थियो । परीक्षणपछि ३ जनामा संक्रमण भेटियो । त्यसपश्चात् ११ गते ३४ जनाको पिसिआर गर्दा ११ जनामा संक्रमण भेटिएको थियो भने व्यक्तिगत तवरमा पिसिआर गरेका २ जनामा संक्रमण पाइएको हो ।
लाहाचोकमा एक्कासी कोरोना संक्रमण भेटिएपछि गाउँपालिकाले आकस्मिक सूचना निकाली पालिकाको सेवा १ हप्तालाई बन्द गरिएको जनाएको छ । पालिका अध्यक्ष कर्णबहादुर गुरुङ आइशोलेसन र संक्रमितको अवस्था बुझ्न लाहाचोक पुगेका छन् ।
संक्रमितमध्ये प्रायः सबैको अवस्था सामान्य रहेको गाउँपालिकाका प्रवक्त एवं वडा ४ का अध्यक्ष पुर्णबहादुर शाहीले जानकारी दिए । ‘हामी निरन्तर निगरानीमा छौं, सबैको स्वास्थ्यवस्था सामान्य छ’ प्रवक्ता एवं अध्यक्ष शाहीले भने ‘जसमध्ये एकलाई केही बढी ज्यान दुखेको र ज्वरो आएको छ ।’
कुनैपनि संक्रमितको अवस्था असामान्य हुने बित्तिकै उपचारार्थ पोखरा लगिहाल्ने शाहीले जनाए । ‘पालिकामा एम्बुलेन्स र आवश्यक सवारीसाधन तयार छ, हामी संक्रमितलाई तुरुन्त पोखरा लैजान तयारीवस्थामा छौं’ उनले सुनाए ।
संक्रमितहरुलाई सहज वातावरण उपलब्ध गराउँन स्थानीय टोल विकास संस्था, आमा समूहलगायतले समन्वय गरिरहेको पालिकाले जनाएको छ ।