जनता समाजवादी पार्टी कुनै हालतमा ओली नेतृत्वको सरकारमा सहभागी हुन्नः यादव

बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरी पनि प्रतिनिधिसभा विघटन गर्ने खतरा बढेको बताएका छन् ।

प्रेस मञ्ज नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको र पुनःस्थापना भइसकेको प्रतिनिधिसभालाई समेत उनले विघटन गर्ने खतरा रहेको बताएका हुन् ।

अर्को विकल्प छिटोभन्दा छिटो खोजेर ओलीलाई पदबाट हटाउनुपर्ने उनको भनाई छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैकल्पिक सरकार बनाउन अग्रसरता दिनुपर्नेमा उनको जोड थियो ।

प्रधानमन्त्री ओलीलाई हटाएर संघीयता तथा गणतन्त्र पक्षधरको सरकार बनाउनुपर्नेमा अध्यक्ष यादवले जोड दिए । हाल ओलीलाई हटाउनुपर्ने सन्दर्भमा कांग्रेस तथा कांग्रेसका सभापति शेरबहादुर देउवातर्फ सबैको नजर भएको उनले बताए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारसंग रेशम चौधरीसहितका राजबन्दीको रिहाई तथा पार्टीका नेता तथा कार्यकर्ताविरुद्धको मुद्धा फिर्ता लिनमात्र सरकारसंग वार्ता गरिरहेको उनले स्पष्ट पारेका छन् ।

जसपा कुनै पनि हालतमा ओली नेतृत्वको सरकारमा सहभागी नहुने उनको स्पष्टोक्ति रहेको छ । प्रधानमन्त्री ओली संघीयता, समावेशिता तथा गणतन्त्र विरोधी भएको र उनी नेतृत्वको सरकारमा सामेल नहुने उनले स्पष्ट पारेका हुन् ।

कमेन्टहरु
Loading...