कोरोना एनिभर्सरी : ३ हजारले ज्यान गुमाएपछि पोखरामा कोरोनाको दोस्रो लहर

दिपक के श्रेष्ठ

गतवर्ष आजकै दिन बिहान छ बजेदेखि नेपालमा लकडाउन घोषणा गरिएको थियो ।

एक वर्षअघि यो मितिमा नेपालमा २ जना कोरोना भाइरसका संक्रमति भेटिएको थियो । जसमध्ये एक नेपाली र अर्का चिनियाँ नागरिक थिए । छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट सुरु भएको भाइरसको जोखिम नेपालमा ढिलो गरी भित्रिएको थियो । चीनको वुहानमा ३१ डिसेम्बर २०१९ मा पहिलो पटक भाइरसको पहिचान भएको हो ।

चीनमा सुरु भएको ३ महिनासम्म अन्य देशजस्तै हामी पनि केवल रमिते भयौं । अघिल्लो वर्षको चैत पहिलो सातासम्म चीन र अन्य देशमा संक्रमितको समाचार हेरिरहँदा नेपालमा भाइरस नभित्रने सोंचमा नेपाली समाज रहेको थियो । त्यसबीच जहाँजहाँ भाइरसबाट मानिसको मृत्यु भयो, त्यसपछि भने यसको उपचार नहुने ठहरी गरी २ संक्रमित भेटिनेबित्तिकै सरकारले १० गते नै एकसाताका लागि लकडाउन घोषणा गरेको थियो ।

लकडाउनपछि कोरोना भाइरसको लहर रोकिएन । मान्छेबीचको सम्पर्क न्यून भएपनि भाइसर फैलदै गयो । एक सातासम्म घोषित लकडाउनकाबीच संक्रमण नघटेपछि पुनः लकडाउनले निरन्तरता पायो । करिब ४ महिना लकडाउन र निषेधाज्ञा झेल्दै नेपाली समाज आज कोरोना भाइसरको वर्षदिने प्रभाव झेलिरहेको छ ।

वर्षदिनमा २ लाख ७६ हजार २४४ जनामा संक्रमण भेटियो । जसमध्ये २ लाख ७२ हजार ९७ जना निको भए । यस महामारीबाट वर्षदिनमा ३ हजार १९ नेपालीले ज्यान गुमाए । अन्य क्वारेन्टाइन र होम आइशोलेसनमा छन् ।
गण्डकी प्रदेशमा १६ हजार ४०७ कूल संक्रमितमध्ये १५ हजार ९६९ जना निको भए । २ सय ५ संक्रमितको मृत्यु भयो । प्रदेशमा हाल २ सय ३३ सक्रिय संक्रमित छन् ।

फागुनदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरियो । फ्रन्टलाइनमा रहेका र ५५ वर्षमाथिका व्यक्तिलाई खोप लगाइएको छ । छिमेकी मुलुक भारत, अमेरिका, बेलायत, चीन र जर्मनमा खोप निर्माण गरी परीक्षणपश्चात वितरण सुरु भएपछि नेपालमा पनि ‘अब बाँचिन्छ’ भन्ने आशा सञ्चारित भएको छ ।

यही आशाबीच पछिल्लो ४ दिनको विकासक्रम भने सुखद छैन । पोखराको लामाचौर क्षेत्रमा संक्रमित ह्वात्तै बढेका छन् । मंगलबारमात्रै पोखरामा ३२ जना संक्रमित भेटिए । सोमबार ४३ र शुक्रबार ३० संक्रमित भेटिएपछि यहाँको अवस्था वर्ष दिनपछि कोरोना पुनः दोस्रो लहरमा चलेको अनुमान गरिएको छ ।

पहिलो चरणको खोप लगाएकालाई वैशाखको ७ देखि ११ गतेसम्म दोस्रो चरणको खोप दिने सरकारको तयारी छ ।

कमेन्टहरु
Loading...