काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई हिट्लरको संज्ञा दिएका छन् । आज आफू निकट विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली नेपालको हिट्लरको अवतार भएको आरोप लगाएका हुन् ।
ओली व्यक्तिवादी बनेको र कन्युनिस्ट आन्दोलनलाई समेत ध्वस्त बनाउने खेलमा लागिरहेको उनले कार्यक्रममा आरोप लगाएका छन् । जबजलाई हामी पनि मान्छौं र संस्थापन एमाले हामी हौं भन्दै ओलीले आम नागरिक माझ भ्रम छरिरहेको उनको आरोप छ । जबज भन्नु नै बहुमतको निर्णय अनुसार भएको तर ओली कहिले पनि बहुमतको निर्णयका आधार नचलेको उनले आरोप लगाए ।
केन्द्रीय कमिटीमा समेत पार्टीको अध्यक्ष जस्तो व्यक्ति र सबैलाई एकताबद्ध बनाएर लैजानुपर्ने अवस्थामा आफ्नो निकट, आसेपासे तथा दासलाई मात्र राखेको उनको आरोप छ । ओलीका आसेपासेले ओलीको गलत कुरालाई पनि सही भन्ने र आलोचना गर्ने हिम्मत नराखेको उनले बताएका छन् । ओलीको निरंकुश शासनलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उनले कार्यक्रममा स्पष्ट पारेका थिए ।