पहिलो वादी मोडेल सरिता, भन्छिन् : हामीसँग शोषण र विभेदका चाङ छन्

 

नेपालको मध्य र सुदूर पश्चिमको भूमिमा वर्षाैदेखि अस्तित्वमा रहेको समुदाय हो, वादी । केही अघिसम्म जीवनयपानकालागि यौन पेशालाई माध्यम बनाएको वादी समुदायलाई अहिले पनि अल्पसंख्यक र अपहेलित वर्गमा राख्ने दुष्प्रयास गरिएको छ । कुनै नयाँ पेशा, व्यवसायको सुरुवात गर्दा पनि समाजले पुरानै ढर्राबाट हेर्ने गरेको पाइन्छ । सोही समुदायको एउटा नाम सरिता वादी यतिबेला मोडल हन्ट नेपालको छैंठौं सिजनको प्रतिष्पर्धामा सहभागी छिन् ।

सुर्खेतको झुप्राखोलाको किनारमा बालुवा चालेर गाँस जुटाउने परिवारकी छोरी सरिता ९ वर्षको उमेरमा लाइट हाउस फाउण्डेशनको सम्पर्कमा पुगिन् । जहाँबाट उनको जीवनले शिक्षाको राजमार्गमा पाइला चाल्यो । फलस्वरुप, उनी अहिले स्नातकतहमा अध्ययनरत छिन् । र, बादी समुदायको दीगो विकासका लागि खोलिएको संस्थामा आबद्ध छिन् । सरिता मोडल हन्टको यही शनिबार हुने फाइनल प्रतिष्पर्धालाई लिएर उत्साही र आशावादी छिन् । उनै सरितासँग गन्थनकर्मी दिपक के श्रेष्ठले गरेको कुराकानीको प्रमुख अंशः

तपाई र तपाईको समुदायबारे हन्टमा सहभागी प्रतिष्पर्धीलाई थाहा छ ?
मेरा समीपमा रहेका र हन्टमा सहभागी सबैलाई मेरोबारे थाहा छ । म आफुलाई वादी भनेरै चिनाउँछु । तरैपनि धेरैले वादी र वादी समुदायप्रति अनभिज्ञता जाहेर गर्छन् ।

जसलाई वादी समुदायबारे थाहा छ, उनीहरुको प्रतिक्रिया कस्तो पाउनु भयो ?
उहाँहरु पुरै आश्चर्यमा पर्नुहुन्छ । आधुनिक समयमा पनि देशमा अझै सामाजिक र आर्थिकरुपमा पिछडिएको समुदाय रहेको चाल पाएपछि दुखित भएको पाएको छु । उहाँहरुले आफ्नो समुदायप्रति योगदान दिन सुझाव दिनुहुन्छ ।

मोडलिङ अर्थात् शो–बिजमा तपाइको पहिलो सहभागिता हो ?
हो, म यस्तो प्रकृतिको कार्यक्रममा पहिलो पटक सहभागिता र प्रतिष्पर्धामा छु ।

मोडलिङबाहेक तपाइको लक्ष्य के छ ?
पहिलो त अध्ययन, त्यसपछि एयरलाइन्समा क्याबिन क्रु हुने योजना छ । सामाजिक कल्याणसँग सम्बन्धित संस्थामा आबद्ध रहेर पोषण, स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्नेछु । जहाँबाट मैले प्रत्यक्षरुपमा आफ्नै समुदायलाई पनि केही गर्न सकुँ ।

मोडल हन्टमा सहभागी भइरहँदा तपाइले सिकेको दुई प्रमुख शिक्षा वा ज्ञान के हुन् ?
मैले मेरो योग्यता, सबल र दूर्बल पक्षबारे थाहा पाए । आत्मविश्वासी हुन सिके, यससँगै निरन्तरको मिहिनेत र लगावले सफलता र खुशीतर्फ डो¥याउँछ भन्ने सिके ।

वर्तमानमा वादी समुदायको आर्थिक अवस्थाबारे केही भन्नुहुन्छ ?
दुखका साथ भन्नुपर्छ, वादी समुदायको आर्थिक अवस्था नाजुक छ । पुर्खादेखि नै वादी समुदायसँग अशिक्षा, बेरोजगारी, शोषण र भेदभावका चाङ छन् । राज्यबाट हेपिएका छन् । नागरिकको हैसियतमा पाउनु पर्ने हक, अधिकारबाट वञ्चित छन् । सिँधै भन्ने हो भने लोकतन्त्रमा पनि वादीहरु गरीब छन्, हेपिएका छन् ।

 

 

के तपाई वादी समुदायको रोल मोडल बन्न चाहनु हुन्छ ?
पक्कै पनि, मेरो समुदायको रोल मोडल बन्न नै हन्टमा आएको छु । यहाँबाट मेरो समुदायलाई आत्मनिर्भर बनाउने मेरो यात्रा शुरु भएको छ ।

यदि यो प्रतिष्पर्धा जित्नुभयो भने आगामी कदम कस्तो हुनेछ ?
म मोडलिङलाई निरन्तरता दिनेछु । मोडलिङलाई माध्यम बनाएर मेरो समुदायको प्रतिनिधित्व गर्दै वादी युवा युवतिलाई उनीहरुको परिचय र पहिचान बनाउन प्रेरणादायी भूमिका खेल्नेछु ।

 

 

मोडल हन्टलाई कसरी बुझ्नुहुन्छ ?
मोडल हन्ट अवसर र पहिचानको प्लेटफर्मकोरुपमा लिएको छु । यहाँबाट मेरो व्यक्तिगत र समुदायको पहिचानलाई उजागर गर्न सकिन्छ भन्ने लाग्छ ।

मोडल हन्टसँग कस्तो अपेक्षा राख्नुहुन्छ ?
म चाहन्छु हन्टले मोडलिङमा रुचि राख्नेहरुलाई अवसर दिएर अघि बढाउन मद्दत गरोस् । सबैको चाहना फाइनल जित्ने नै हो । म पनि जित्न चाहन्छु । मेरो जीतले देशमा हेपिएको र पिछडिएको समुदायमा थोरै भएपनि खुशी र आशाको सञ्चार छर्न चाहन्छु । सबै अपेक्षा एउटै मञ्चबाट पुरा नहोला तर गन्तव्यतर्फ लम्किरहनेछु ।

 

कमेन्टहरु
Loading...