दिपक के श्रेष्ठ
पछिल्लो ३ दिनमा पोखरा महानगरभित्र एक्कासी कोरोना संक्रमितको संख्या बढेको छ । पोखरामा मात्र हैन आजैको मितिमा देशभर १ सय ५० संक्रमित भेटिए भने ३ जनाले ज्यान गुमाए ।
संक्रमण फेरि सुरु हुने आशांकासहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशवासीमा थप संक्रमण फैलन सक्ने भन्दै आइतबार विज्ञप्तीमार्फत सचेत हुन अनुरोध गरेको छ ।
मन्त्रालयले विज्ञप्तीमार्फत मेला, महोत्सव नगर्न, अनावश्यक भीडभाड नगर्न भनेपनि पोखरामा भने प्रथन लेखनाथ खास्टेताल महोत्सवको मिति सार्वजनिक गरिएको छ ।
उक्त महोत्सव १० दिनको हुने आयोजक खास्टे तथा न्यूरेनी संरक्षण विकास समितिले जनाएको छ । जसबारे जानकारी दिन आयोजकले सोमबार पत्रकार सम्मेलन गरेको छ । मन्त्रालयको विज्ञप्तीअनुसार महोत्सव गर्न पाइँदैन । यसबारे निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीसँग रहेको छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमले मन्त्रालयको विज्ञप्ती कार्यान्वयन नहुने बताए । ‘मैले पनि विज्ञप्ती हेरेको छु’ प्रजिअ गौतमले भने ‘हामीलाई मन्त्रालयबाट पत्र आइसकेको छैन ।’ गौतमका अनुसार मन्त्रालयले उक्त निर्देशन सम्बन्धित सबै प्रशासन कार्यालयमा परिपत्र गर्नुपर्ने हुन्छ ।
तर परिपत्र नभएपनि स्वास्थ्य सचेतनाको जिम्मेवारी प्रशासनको हुने भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल गरी महोत्सव रोकिन पनि सक्ने बताए ।
यसैबीच, गौतमले पछिल्लो समय स्वास्थ्यसम्बन्धी सचेतना अपनाउन छाड्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले कास्कीवासीलाई बाराम्बार हात धुन, सेनिटाइजरको प्रयोग गर्न र अनावश्यक भीड नगर्न अपील गरेका छन् ।
यसैगरी, महानगरका मेयर मानबहादुर जिसीले स्थिति पुनः भयावह हुन सक्ने भन्दै आफुले खास्टेताल महोत्सवको आयोजकलाई पत्रकार सम्मेलन नगर्न र मेलाको मिति सार्न अनुरोध गरेपनि नमानेको प्रतिक्रिया दिए ।
यस विषयमा आयोजक समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको प्रतिक्रिया भने अचम्मको छ । उनले भने, ‘धेरै भीडभाड नगरी, स्वास्थ्य सुरक्षा अपनाउँदै थोरै मान्छे बोलाएर महोत्सव गर्नेछौं ।’
शनिबारदेखि पोखरामा संक्रमित बढेपछि आइतबार साँझ नेपाल प्रहरीले गस्तीकोक्रममा माइकिङ गर्दै नगरवासीलाई कोरोना संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको थियो ।
सम्बन्धित समाचार
पोखराका कोरोना संक्रमणको दर फेरी बढ्यो, आजै ४३ जनालाई पुष्टि, वडा नम्बर १६ मा ३० जना संक्रमित थपिए