आफू समर्थित नेता तथा कार्यकर्ताको रिहाईमा ढिलो भएपछि विप्लवद्वारा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आज भेटवार्ता भएको छ । दुवैबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

महासचिव विप्लव प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीसंगको भेटमा विप्लवले जेलमा रहेका नेता तथा कार्यकर्तालाई सरकारले रिहा गर्न ढिलाई गरिरहेको गुनासो गरेका थिए ।

आफूहरुसंग सरकारले गरेको सहमतिका आधारमा आफू समर्थक नेता तथा कार्यकर्तालाई रिहा गर्न ढिलाई गरेको भन्दै प्रधानमन्त्री ओलीसंग विप्लवले भेटका क्रममा गुनासो गरेको उक्त समुहका नेता उदयबहादुर चलाउनेले बताएका छन् ।

सरकार तथा विप्लव समुहबीच गत फागुन २० गते विभिन्न विषयमा सहमति भएको थियो । विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने, विभिन्न मुद्दामा कारागारमा रहेका विप्लव नेतृत्वको समुहका नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने तथा उनीहरुमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्ने लगायतका सहमति सरकारसंग विप्लव समुहले गरेको थियो ।

सबै सहमति कार्यान्वयनमा सरकारले ढिला गरेको भन्दै विप्लवले आज उनकै सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओली समेत विप्लवले उठाएको विषयमा गम्भीर भएको र उक्त समुहका नेता तथा कार्यकर्ताको रिहाईका लागि आफू लागि रहेको बताएको विप्लव समुहका नेता चलाउनेले बताएका छन् ।

कमेन्टहरु
Loading...