ढाका । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणका सिलसिलामा आज ढाकामा पुगेकी छिन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका निमन्त्रणामा भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा पुगेकी हुन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट त्यहाँ पुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीलाई विमानाट ओर्लेलगत्तै बंगलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले पनि स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइएको थियो ।
राष्ट्रपति भण्डारीले त्यसपछि यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । त्यहाँ उनले वृक्षरोपण पनि गरिन् । राष्ट्रपति भण्डारी हाल आवासका लागि प्रबन्ध गरिएको इन्टरकन्टिनेन्टल होटेलमा पुगेकी हुन् ।
राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा.हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायत छन् ।
यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा.दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा सहभागी छन् । भ्रमण दलमा कलाकार अशोकुमार राईका नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा ३ सञ्चारकर्मी पनि छन् । रासस
तस्बिरः रासस