आजबाट सुरु भयो गैंडाको गणना

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैंडा गणना सुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैंडा गणनाको शुभारम्भ गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना सुरु गरिएको हो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागका महानिर्देशक दीपक खराल, वन विभागका महानिर्देशक मनबहादुर खड्का, वन मन्त्रालयका महाशाखा प्रमुख, विभिन्न दातृ निकायका प्रमुखको सहभागिता रहेको थियो । गणना सुरु भएसँगै सौराहामा औपचारिक उद्घाटन कार्यक्रम गरिँदै छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गणनामा ४० वटा हात्ती र २०० जनशक्ति परिचालन गरिएको छ । २ वटा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ । बरालका अनुसार ४० मुख्य गणक र वैकल्पिक २० लाई गणनामा खटाइँदै छ ।

यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका छन् । गणनामा खटिएकालाई यही चैत ६ र ७ गते सौराहामा तालीम दिइएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार २ वटा निकुञ्जमा गैंडा गणना गर्न २० दिन हाराहारी लाग्ने छ ।

गैंडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागको नेतृत्वमा भएको हो । विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गैंडा रहेका अन्य २ वटा निकुञ्ज बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना सुरु गरिँदै छ । आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैंडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ । गत वर्ष चैत ११ गतेदेखि गैंडा गणना गर्ने भनिए पनि कोरोनाका कारण अन्तिम तयारी भएपछि स्थगन भएको थियो । २ वर्षअघि गैंडा गणना गर्न लागिएको भए पनि तत्कालीन समयमा दाताको भरपर्दा बजेट अभावमा गणना हुन सकेको थिएन ।

सरकारले गत वर्ष गैंडा गणनाका लागि १ करोड १० लाख विनियोजन गरेको थियो । आचार्यका अनुसार गत वर्ष केही सामग्री खरिद भएकाले यस वर्ष सरकारले ८० लाख विनियोजन गरेको छ । दाताबाट २५ लाख हाराहारी सहयोग हुने उनले जानकारी दिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तुु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका संसंस्थाको सहयोगमा गैंडा गणना सुरु गरिएको हो ।

हरेक ५ वर्षमा गैंडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले १/१ गरी गैंडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन, क्यामेरालगायतको प्रयोग गरिन्छ । गैंडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक ५/५ वर्षमा गैंडा गणना गरिँदै आएको थियो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैंडा थिए । तथ्यांकअनुसार चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ वटा गैंडा भेटिएका थिए ।

नेपालमा सन् १९५० मा ८ सय, १९५५ मा ४ सय, १९६० मा ३ सय, १९६५ मा १ सय, १९७० मा १ सय ८, १९७५ मा १ सय ४७, १९८० मा ३ सय १०, १९८५ मा ३ सय १०, १९९० मा ३ सय ५८, १९९५ मा ४ सय ६६ रहेको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी सन् २००० मा ६ सय १२, २००५ मा ४ सय ९, २०१० मा ४ सय ३५ हुँदै पछिल्लो गणना सन् २०१५ मा ६ सय ४५ पुगेको अधिकारीले बताएका छन् । रासस

कमेन्टहरु
Loading...