कोरोना महामारीले व्यवसायमा असर ग¥योः पूष्प व्यवसायी

पोखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको असर पोखराको पूष्प व्यवसायमा पनि परेको व्यवसायीले गुनासो गरेका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यान कास्कीको बेगनासमा आयोजित ११ औं वार्षिक साधारणसभाको अवसरमा बोल्ने व्यवसायीले उक्त कुरा बताएका हुन् । कोरोना महामारी फैलिने भन्दै नेपालमा गरिएको लकडाउनले फूल व्यवसायीको रोजीरोटी ठप्प भएको उनीहरुले बताए । उनीहरुले कोरोना कहरका कारण व्यवसायीका व्यक्तिगत र संस्थागत कार्यक्रममा असर परेको बताएका छन् ।

कोरोना कहरमा व्यवसायेभन्दा ज्यान ठूलो भन्ने आशय व्यवसायीले बुझेको उनीहरुले बताए । अब कोरोनाको महामारी घट्दै गएको र बजार पनि सहज भएकोले संस्थागत गतिविधि बढ्दै जाने उनीहरुले बताएका छन् । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले कोरोनाको कहरले कसैलाई नछोडेको बताए । उनले अब कोरोनाप्रति सचेत हुँदै आफ्नो दैनिकीलाई सुचारु गर्नुको विकल्प नभएको जिकिर गरेका छन् । नेपालमा पूष्प व्यवसायको भविष्य राम्रो रहेको बताउँदै उनले यसले व्यवसायीको आर्थिक रुपान्तरणमा उल्लेख्य भूमिका खेल्ने समेत टिप्पणी गरे ।

फ्यान कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्वाले पुष्प व्यवसायीका समस्या सरकारले सम्बोधन गर्नुपर्ने बताए । लगानीसंगै रोजगार सिर्जना गरेका व्यवसायीलाई सरकारको प्रोत्साहन आवश्यक भएको उनको भनाई छ । पोखरामा फूलको कारोवारको यकिन तथ्यांक नभएपनि करोडौंको कारोवार हुने गरेको उनले जानकारी दिएका छन् ।

फ्यान कास्कीका अध्यक्ष सीतामाया रानाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार मोहनप्रसाद शिवाकोटी, उपाध्यक्ष दिलबहादुर गुरुङले बोलेका थिए । सो अवसरमा सचिव श्रीराम सुवेदीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष गोविन्द सापकोटाले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको छ । साधारणसभाले निकट भविष्यमा पोखरामा पूष्प मेला गर्ने, व्यवसायीलाई तालिम दिने, र व्यवसायिक अध्ययन अवलोकन भ्रमण गर्ने निर्णय समेत पारित गरेको छ । पोखरामा करिव ४० जना व्यवसायीले फूल खेती गर्दै आएका छन् । यो खेतीबाट थुप्रैले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी भएको फ्यान कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...