काठमाडौं । यतिबेला भारतमा कोरोना भाइरस संक्रमणको दर फेरी वृद्धि भएको छ । एकैदिन त्यहाँ हजारौंलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । भारतको गुजरात, महाराष्ट्र लगायतका राज्यमा कोरोना संक्रमित बढिरहेका छन् । छिमेकी मुलुक भएको नाताले भारतमा कोरोना संक्रमणको दर वृद्धि भएसंगै नेपालमा पनि असर देखिन थालेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या बढेपछि रोजगारीका लागि छिमेकी मुलुक पुगेका नेपाली फर्किन थालेका छन् । यसले संक्रमण नेपालमा पनि फेरी भित्रिने हो कि भन्ने आशंका गरिएको छ ।
यसैबीच भारतमा कोरोना संक्रमणको दर बढेसंगै नेपाल सरकारले भारतसंग सीमा जोडिएका नाकामा निगरानी गर्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले अहिले भारतको अवस्थालाई नियाल्दै सीमामा हेल्थ डेस्कको संख्या केही मात्रामा बढाइएको जानकारी दिएका छन् । नेपालमा पनि भारतमा जस्तै कोरोनाको दोस्रो लहर फैलिने हो कि भन्ने जोखिमबीच घर फर्किने नेपालीको नाकामा परीक्षण गर्ने तयारी गरिएको डा.पौडेलको भनाई छ । डा.पौडेलका अनुसार भारतसंग जोडिएको मुख्यगरी बेलहिया, कृष्णनगर, गड्डाचौकी, जमुना लगायत १४ वटा नाकामा निगरानी बढाइएको छ ।
विभिन्न नाकाबाट नेपाल भित्रिनेको एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको उनले बताएका छन् । यस्तै पौडेलका अनुसार हालसालै मात्र भारतमा कोरोना भाइरसको संक्रमण वृद्धि भएको समयमा नेपाल भित्रिएकालाई १४ दिन क्वारेन्टिनमा नै बस्न आग्रह गरिएको छ । केही दिन यता भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भए पछि त्यहाँका विभिन्न राज्यमा लकडाउनको घोषणा गरिएको छ ।