लमजुङको मस्र्याङ्दीमा ट्रक खस्दा ६ जनाको ज्यान गयो, २ जना गम्भीर घाइते

लमजुङ । लमजुङ बेंसीसहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा ६ जनाको ज्यान गएको छ ।

लमजुङ बेंसीसहरबाट मनाङ जाँदै गरेको ध १ ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिएका छन् ।

उनका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै ३ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको रहेका छन् । त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेंसीसहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति ज्यान गएको प्रहरी निरीक्षक पुनको भनाई छ ।

त्यस्तै उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका ३ जनामध्ये नासो–१ का ३ वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा ज्यान गएको छ । गम्भीर घाइते २ जना सोही ट्रक चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरी निरीक्षक पुनले बताए । उनीहरु ५ जनालाई नै उपचारका लागि शनिबार राति ८ः३० बजेतिर जिल्ला अस्पताल लमजुङमा ल्याइएको प्रहरी निरीक्षक पुनले बताएका छन् ।

उपचारका क्रममा २ जनाको जिल्ला अस्पताल लमजुङमा ज्यान गएको र ३ जनाको उपचार हुन नसकेपछि उक्त अस्पतालमा सिफारिस गरिएको प्रहरी निरीक्षक पुनको भनाई छ । जिल्ला अस्पताल लमजुङमा ज्यान गुमाएका २ जनाको शव अस्पतालमा राखिएको छ ।

घाइते चालक तामाङको टाउकामा चोट लागेको छ भने ७ वर्षीय गुरुङको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रकमा ८ जना सवार थिए । रासस

कमेन्टहरु
Loading...