काठमाडौं । नेकपा एमालेले गुटगत भेला आयोजना गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले गुटगत भेला आयोजना गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
चैत्र ५ गते गठन भएको बोर्डमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाललाई पनि राखिएको छ । आज बोर्डको पहिलो बैठक बसेको हो । बैठकमा पार्टीका उपाध्यक्ष बामदेव गौतम पनि सहभागी थिए ।
पार्टी उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले चयन गरेकाले संसदीय दलको ह्वीप नलाग्ने प्रतिक्रिया दिएका छन् । आफू राष्ट्रपतिबाट चुनिएको सांसद भएको र ह्वीप लाग्दैन भन्ने सोंच भए पनि दलको निर्देशनभन्दा बाहिर नजाने उनको भनाई थियो ।
उपाध्यक्ष गौतमले आफू प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली कसैको पनि पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै पार्टी एकता जोगाउन लागिपरेको बताएका छन् ।
सर्वोच्च अदालतको फागुन २३ गतेको एमाले ब्युँत्याउने फैसलामा आफू निकै खुसी भएको गौतमको भनाई थियो ।