एमाले नेता माधव नेपाल पक्षीय प्रभावशाली मानिने सांसद पोखरेल ओली पक्षमा लागे

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता मानिने सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा लागेको घोषणा गरेका छन् । आज आयोजित पार्टीको संसदीय दलको बैठकमा सांसद पोखरेल सहभागी भएका थिए । बैठकमा उनले आफू ओली पक्षमा लाग्ने घोषणा गरेका हुन् ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले तथा माओवादी केन्द्र ब्युँत्याएकोमा सबैभन्दा खुसी मान्ने व्यक्तिमा आफू पनि रहेको भन्दै सांसद पोखरेलले जबजसहित सूर्य चिन्ह प्राप्त गरेपछि ओली समुहमा आएको उनको भनाई थियो । अब प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको मुलुललाई विकास तथा समृद्धिको बाटोमा लैजाने अभियानलाई साथ दिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफूले पार्टीका नेता सुवासचन्द्र नेम्वाङसंग प्रतिनिधिसभा विघटन गर्नु गलत भए पनि छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकिएको र केही गल्ती भए माफ गर्न भनिसकेको उनले बताए । ओलीको अभियानलाई साथ दिन तथा पार्टी एकतालाई सशक्त ढंगले अगाडि बढाउन पुरानो समुह त्याग्दै ओली समुहमा आएको उनले बताएका छन् । बेलायतमा पनि जोन मेजरलाई घेराबन्दीमा पारेर हटाउन खोजिएको भए पनि त्यहाँ ५ वर्षसम्म उनकै नेतृत्वमा सरकार चलेको उदाहरण पेश गर्दै सांसद पोखरेलले माधव नेपाल पक्षका नेताले समेत ओलीलाई साथ दिनुपर्ने बताएका छन् । बिना सर्त ओलीलाई साथ दिनुपर्ने उनको भनाई थियो ।

सांसद पोखरेल कानुन व्यवसायी पनि हुन् । उनी चितवनबाट निर्वाचित भएका थिए । एमालेको माधव नेपाल पक्षमा उनलाई प्रभावशाली नेताका रुपमा लिइन्थ्यो । सर्वोच्चले खारेज गरिसकेको नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनको समयमा उनी अदालत तथा निर्वाचन आयोगमा प्रचण्ड–नेपाल पक्षको प्रतिनिधिका रुपमा जाने गरेका थिए ।

कमेन्टहरु
Loading...