काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भई पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले बताएका छन् ।
उनका अनुसार अझै २/३ दिन देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २७ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । रासस