किलर माउन्टेनदेखि सगरमाथा हुँदै पूर्णिमाको अबको गन्तव्य अन्नपूर्ण नर्थ

रिना थापा

पोखरा । पत्रकार बन्ने सपनालाई पछ्याउँदै हिंड्दा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले हिमाल आरोहण गर्ने सपना देखिन् । एउटा सपनाले अर्को सपनालाई डो¥याए जसरी उनी हिमाल आरोहणको सपनालाई बिपनामा बद्लिंदै मनास्लु, सगरमाथा र आमादब्लम हिमाल चढिसकेकी छन् । हिमालको फोटो खिच्ने इच्छा पूरा गर्न २०१७ मा एभरेस्ट म्याराथनको कार्यक्रममा सगरमाथा आधार शिविर पुगेकी श्रेष्ठको मनमा एकाएक नयाँ सपना पलायो ।

उक्त सपना पूरा गर्ने उनमा एक खाल्को हुटहुटी नै चल्यो । सगरमाथाको आधार शिविरमा बसेर हिमाल नियाल्दै उनले अठोट गरिन् ‘म सगरमाथा चढ्छु ।’ तर सगरमाथा आरोहण गर्नु अघि ६ हजार मिटरभन्दा माथिको अरु कुनै हिमाल चढेको अनुभव हुनुपथ्र्यो । सगरमाथाको चढ्ने अठोट पूरा गर्न सोही वर्ष ऋण नै खोजेर भएपनि उनी किलर माउण्टेनको उपमा पाएको मनास्लु हिमाल चढ्न सफल भइन् । त्यस समय १२ लाख खर्च गरी मनास्लु चढेकी उनलाई चार लाख ऋण लागेको थियो ।

२०७४ असोज १० गते ८ हजार १ सय ६३ मिटर उचाईको मनास्लु हिमाल आरोहण पुरा गरेर श्रेष्ठले हिमाल आरोहणको सपना पछ्याउँन सुरु गरेकी थिइन् । सगरमाथाको लक्ष्य राखेकी श्रेष्ठलाई मनास्लु भने ‘वार्म अप’ मात्र थियो । अन्ततः २०७५ जेठ ५ गते शनिबार बिहानको ८ः१० बजे शिखर चुमिन् । त्योसँगै श्रेष्ठ सर्वोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनिन् । सवोच्च शिखरमा सफल आरोहण गरेपश्चात् श्रेष्ठको हिमाल आरोहणको मोह र हुटहुटी यही रोकिनेवाला थिएन । अन्नपूर्ण हिमाल–१ को आरोहण उनको अर्को गन्तव्य बन्यो ।

नेपालमा प्राविधिक रुपमा अप्ठ्यारो हिमालमध्येको एउटा हो अन्नपूर्ण हिमाल । आरोही र गाइडसमेत अन्नपूर्ण हिमाल आरोहणलाई अप्ठ्यारो आरोहणको रुपमा लिन्छन् । सफल र सक्षम आरोहीसमेत अन्नपूर्ण हिमाल आरोहणमा विफल भएको रेर्कड छन् । अन्यले अप्ठ्यारो मानेको हिमाल आरोहणलाई सफल बनाउनु पूर्णिमाको नयाँ लक्ष्य हो । आरोहणकै लागि भनेर श्रेष्ठ आज शुक्रबार पोखरा आइपुगेकी छन् । उनलाई गण्डकी प्रदेश सरकारले स्वागत कार्यक्रमका बीच ८ लाख सहयोग गरेको छ ।

आगामी आइतबार चैत्र ८ गतेदखि हिमाल आरोहणमा सुरुआत गर्न लागेकी श्रेष्ठ उत्साहित छिन् । ‘अन्नपूर्ण आरोहणलाई कठिन मानिएर होला साथीले जानाजान किन मर्न चाहान्छौं प्रश्न गर्नुहुन्छ ।’ उनले उल्टै प्रतिप्रश्न गर्दै सुनाइन्, ‘सपना छ भने मर्न डराएर हुन्छ ?’

उसो त मनास्लु र सगरमाथा आराहेहण गर्दा समेत यस्तो प्रतिक्रिया आएको उनको अनुभव छ । तर उनको आवाजमा दृढता सुनिन्छ । ‘सायद त्यति बेला मैले अरुको सुनेर मर्नदेखि डराएको भए आज तपाईंहरु सामु सक्सेस स्टोरी सुनाउन पाउँथिन ।’ उनले भनिन् ।

आइतबारबाट सुरु हुने यात्रामा कम्तीमा २२ देखि २५ दिनभित्र आरोहण सक्ने श्रेष्ठ बताउँछिन् । मौसमको अनुकलता हेरेर बढीमा १ महिना लाग्न सक्ने उनको भनाई छ । उनीसहित टोलीमा अन्य १७ जना समेत आरोहणमा सहभागी हुँदैछन् ।

अन्नपूर्ण–१ अर्थात् नर्थ अन्नपूर्ण आरोहणको लागि २५ लाख खर्च लागेको उनले जानकारी दिएकी छन् । उत्साहित देखिएकी उनले अन्त्यमा भनिन्, ‘के हुन्छ, कस्तो हुन्छ, थाहा भएन, तर सक्सेस भएर आउने हो ।’

कमेन्टहरु
Loading...