काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले २ दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेपश्चात् आजबाट समानान्तर भेला सुरु गर्ने भएको छ । एमाले कै उक्त समुहले आजबाट जनसंगठनको समानान्तर सभा आयोजना गर्ने भएको हो ।
स्रोतका अनुसार पार्टीको नेपाल समुहले आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरिएको छ । उक्त भेलामा नेता नेपालसहित झलनाथ खनालले सम्बोधन गर्ने भएका छन् ।
त्यस्तै नेपाल निटक युवाले भोलि शनिबार युवा संघको भेला आयोजना गर्ने भएको छ । त्यस्तै उक्त समुहले चैत्र १० गते विद्यार्थीको राष्ट्रिय भेला आह्वान गरेका छन् । नेपाल पक्षले आफू निकट अन्य जनसंगठनलाई समेत समानान्तर गतिविधि गर्न निर्देशन जारी गरिसकेको छ ।
यस अगडि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले समेत महिला भेलाको आयोजना गरेको थियो । सर्वोच्चले नेकपा खारेज गर्दै एमाले तथा माओवादी केन्द्रलाई ब्युँताएपछि एमालेमा विवाद बढेको छ ।