दिपक के श्रेष्ठ
गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको कूलपतिमा ७ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।
यसअघि प्रबल दाबेदारी प्रस्तुत गरेका रमेश श्रेष्ठ र पुरुषोत्तम न्यौपानेबीच अहिले प्राडा रामनाथ ओझाले प्रवेश गरेपछि उनैको पल्ला भारी भएको छ । ओझाले हिजोमात्रै दरखास्त हालेका हुन् ।
प्राडा ओझाले नेकपा एमालेअन्तरगत नेपाल बुद्धिजिवी परिषद्को केन्द्रीय उपाध्यक्ष, कृषि तथा वन विज्ञान विश्वविद्यालयको सेवा आयोगको अध्यक्षको भूमिका निभाइसकेका छन् । त्यस्तै, अध्यापन, नेपाली भाषा र साहित्यको विकास र अनुसन्धानमा लामो समय खर्चेका ओझा हाल त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस, किर्तीपुरमा कार्यरत छन् । स्रोतले दिएको जानकारी अनुसार उनलाई नियुक्ती दिन परेको बेला प्रतिष्ठानमा ल्याइने सम्भावना बढी छ ।
प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तरगत रहने प्रतिष्ठानको कुलपतिका अन्य दाबेदारमा सुर्य खड्का बिखर्ची, माधब बियोगी र दुर्गाबहादुर शाह ‘बाबा’ र लोकबहादुर थापा रहेका छन् । थापा माओवादी खेमाका हुन् ।
प्रतिष्ठानले दरखास्त आव्हान गरेपछि ५७ जनाले आवेदन दिएका छन् । उक्त संख्याबाट पहिलो चरणमा २४ जनाको नाम छनोट गरिएको छ । उपकूलपतिमा प्रकट पँगेनी, बिबि अनुरागी, गोरे गुरुङ, छन्दिका त्रिपाठी र थप एकजना रहेका छन् ।
हालसम्मको आंकलनमा कूलपतितर्फ प्राडा.रामनाथ ओझा, उपकूलपतिमा प्रकट पँगेनी र सदस्यसचिवमा मनकुमार श्रेष्ठको सम्भावना प्रबल रहेको श्रोतले बताएको छ । सदस्यसचिवमा श्रेष्ठबाहेक अन्यको आवेदन परेको छैन । जन सांस्कृतिक महासंघका गण्डकी अध्यक्षसमेत रहेका श्रेष्ठ लामोसमय देखि पोखरामा कला र संस्कृतिको क्षेत्रमा क्रियाशील छन् ।
प्रतिष्ठानको पदाधिकारीहरुको छनौट १० गतेसम्म हुने सम्भावना छ ।