कर्णाली । नेकपा एमालेको विवाद प्रदेशमा पनि देखिन थालेको । यसका बाछिटा आज कर्णाली प्रदेशमा देखिएको छ । आज नेकपा एमाले केपी ओली समुहले कर्णाली प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको थियो । तर त्यसको केही समयपछि नै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको समुहले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको प्रतिक्रिया दिएको छ ।
कर्णाली प्रदेशका एमाले संसदीय दलका नेता यामलाल कंडेलले आज संसदीय दलको बैठक बोलाएर प्रदेशमा सरकारलाई दिइएको समर्थन फिर्ता भएको जनाएका थिए । तर बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका १० जना सांसदको सहभागिता रहेको थियो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ९ जना सांसद भने संसदीय दलको बैठकमा सहभागी भएका थिएनन् ।
प्रदेशसभामा एमालेका २० जना सांसद निर्वाचित भएकोमा साजबहादुर शाही सभामुख रहेका छन् । संसदीय दलको बैठकपश्चात् दलका नेता कंडेलले पत्रकारसंग कुराकानी गर्दै एमालेले प्रदेश सरकारलाई दिएको समर्थन भोलिबाट लागु हुने गरेर फिर्ता भएको बताएका थिए । साथै प्रदेश सरकारका एमालेका तर्फबाट सहभागी भएका ३ जना मन्त्रीलाई फिर्ता आउन निर्देशन समेत दिइएको उनको भनाई थियो ।
तर एमाले ओली पक्षको यो निर्णय आएको केही समयमा नै वरिष्ठ नेता नेपाल पक्षीय सांसदले भने कर्णाली प्रदेशमा सरकारलाई दिइएको समर्थन फिर्ता नभएको स्पष्ट पारेका छन् । एमालेका सांसद समेत रहेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संसदीय दलको बैठकको नाममा ओली पक्षीय नेताले गुटगत बैठक राखेको आरोप लगाएका छन् । गुटगत रुपमा बैठक राखेर निर्णय भएकाले उक्त निर्णयप्रति आफूहरुले सहमति राख्न नसकिने समेत उनले स्पष्ट पारेका छन् ।
समर्थन फिर्ता लिए विश्वासको मत लिन्छुः मुख्यमन्त्री शाही
यता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ । प्रमुख सत्तारुढ दल नेकपा एमालेको ओली पक्षले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै उनी नेतृत्वको सरकार अहिलेलाई अल्पमतमा परेको हो । मुख्यमन्त्री शाहीले भने एमालेले समर्थन फिर्ता लिएपनि सदनबाट विश्वासको मत लिने प्रतिक्रिया दिएका छन् । एमालेको निर्णयप्रति उनले लोकतन्त्रमा समर्थन लिने र दिने कुरा सामान्य भएको बताउँदै विश्वासको मत लिन आफूहरु मानसिक रुपमा तयार रहेको बताएका हुन् ।