बोल्यो कि पोल्यो : शेयर बजारमा तरंग ल्याउने निफ्रासँग नेप्सेले माग्यो स्पष्टीकरण

 

गन्थन डेस्क

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले ३ दिनभित्र स्पष्टीकरण माग गरेको छ ।

निफ्राले विदेशबाट ३० मिलियन डलरको बण्ड ल्याउने र लण्डन स्टक एक्स्चेन्जमा सूचिकृत हुने समाचार प्रकाशित गराएको विषयमा सत्यतथ्य बुझ्न स्पष्टीकरण मागिएको हो ।

नेप्सेका कायममुकायम सहायक प्रबन्धक सुबोध ढुंगेलले मंगलबारको निर्णयअनुसारआज  स्पष्टीकरण माग गर्दै पत्राचार गरेको बताएका छन् । नेप्सेले पठाएको पत्रबारे निफ्राले पुष्टी गरेको छ ।

पत्रमा ‘लन्डन स्टक एक्सचेन्जमा सूचिकृत हुने कति सत्य हो ?’, ‘संस्थाले वित्तीय संस्थाकालागि पनि बण्ड जारी गर्ने समाचार कति सत्य हो ?’ र ‘यस विषयमा के–कस्तो छलफल अघि बढाइएको हो ?’ भन्ने प्रश्न सोधेको छ ।

चालू आर्थिक वर्षमै ८.५ प्रतिशत ब्याज तोकेको र कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश बाँड्ने भन्दै धितोपत्रको मूल्यमा प्रभाव पार्न खोजेको विषयमा पनि नेप्सेले जवाफ मागेको छ ।

निफ्राका सिइओ रामकृष्ण खतिवडाले एक कार्यक्रममा लण्डनको स्टक मार्केटमा ३० मिलियन डलरको बण्ड जारी गर्नेबारे बोलेका थिए । उनको यही भनाईलाई आधार मान्दै शेयर बजारमा प्रभाव पार्न खोजेको ठहर गर्दै स्पष्टीकरण सोधिएको नेप्सेका कामु महाप्रबन्धक ढुंगेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...