काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहंकारले गर्दा दुई तिहाईको सरकारले समेत काम गर्न नसकेको आरोप लगाएका छन् ।
आज राजधानीमा पार्टी नेता माधवकुमार नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले निर्वाचन पश्चात् ओली नेतृत्वको सरकार गठन गरेको भए पनि ओलीले आफ्नो गुटका व्यक्तिलाई मात्र नियुक्त गरेर एकलौटी ढंगले अगाडि बढेको आरोप लगाएका हुन् । निर्वाचनका समयमा घोषणापत्रमा उल्लेख भएको योजनालाई समेत ओलीले लागू गर्न नसकेको उनको आरोप रहेको छ ।
प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले आफ्ना आसेपासेलाई मात्रै नियुक्ति गरेको उनको आरोप छ । पार्टीसंग कुनै विचार विमर्श नगरेर एकलौटी ढंगले विभिन्न निर्णय गरेको भन्दै ओलीलाई आम नागरिकले पनि धिक्कारिरहेको उनको दावी थियो ।
‘पछिल्लो पटक उहाँले पार्टीका कुरा नसुन्ने मात्र होइन, बैठकमा आउन पनि छोड्नुभयो ।’ उनले भने, ‘छिट्टै सक्ने भने एकीकरण गरेका थियौं, तर त्यो ओलीले सम्पन्न गर्न सकेनन् ।’
कार्यक्रम अवधिभरी नै प्रधानमन्त्री ओलीविरुद्ध आक्रोश पोखेका उनले ओलीले गरेको ३ वर्षको नेतृत्वको काल अवसरवादी तथा दक्षिणपन्थी भएको आरोप लगाएका छन् । केपी ओलीले नै गुटबन्दी पार्टीमा भित्र्याएको उनले बताएका छन् ।
ओलीले सुरु गरेको गुटबन्दीले पार्टीमा अराजकता भित्रिएको आरोप लगाएका छन् । ओलीकै कारणले पार्टीका विधि विधान समेत बिर्सिन बाध्य भएको उनको भनाई छ । माओवादी केन्द्रसंगको एकतालाई भंग गर्न समेत ओली नै अग्रसर भएको उनले बताएका छन् ।