सामा मारिया भर्सेज विनोद पराजुली : डोनेसनको रकमले निम्त्याएको विवाद

रिना थापा

संस्था दर्ता गरेर थप प्रक्रिया अघि बढाउँदै जाँदा लचिला चरण नेपालमा विदेशी र नेपाली नागरिकबीच विवाद सुरु भएको छ ।

बालगृह सञ्चालन गर्ने उद्देश्यले ०७५ सालमा कास्की प्रशासनमा दर्ता गरी लचिला नामक संस्था स्थापना गरेपनि विदेशी नागरिक सामा मारिया गारिजो गोमेजले आफनो उद्देश्य अनुरुप बेचबिखनमा परेका बालबालिकालाई आश्रय दिन नपाउने भईन् ।

साढे २ वर्ष अगाडि स्पेनिस नागरिक सामा टुरिष्ट भिषामा नेपाल आईन् । यहाँ उनको भेट पोखरा पामे वडा २३ निवासी विनोद पराजुलीसँग भयो । सोही भेट र चिनजानले सामा र विनोद सहकार्य गरी गैर सरकारी संस्था –एनजिओ) चलाउने निर्णय भयो । जसको लागि मारियाले विदेशबाट आर्थिक सहयोग संकलन गर्ने भईन् ।

संस्थाका लागि भवन निर्माण गर्ने जग्गा पराजुलीले मारियालाई दिने भए । ०७५ मंसिर ७ गते उनीहरुबीच लिखित सम्झौता भयो । सम्झौतापत्रमा १० वर्षका लागि पराजुलीले मारियालाई मासिक १७ हजार १ सय रुपैयाँमा जग्गा भाडामा दिए । त्यसलगत्तै सामाले उक्त जग्गामा भवन निर्माणको कार्य थालनी गर्न थालिन् ।

दुबैको निर्णय बमोजिम ०७६ असोज १ गते लचिला चरण नेपाल विनोद पराजुलीको नाममा दर्ता भएको थियो । मारियाले विदेशबाट संस्थाको नाममा आर्थिक सहयोग संकलन गर्दै निर्माण कार्य गरिन् ।

६ महिना अगाडि भवनमा बालबालिका राख्ने अनुमति लिन जाँदा मारिया फर्किनप¥यो । नेपाली राम्रोसँग नबुझने मारियालाई विभिन्न संस्थाले लचिला चरण नेपालसँग बालबालिका राख्ने अनुमति नभएको भन्दै फर्कायो । मारिया लक्षित उद्देश्य अनुरुपमा संस्था दर्ता नभएकोमा उनी र पराजुली बीच विवाद सुरु भयो ।

विवाद चर्किदै गएपछि मारिया जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका र वडा कार्यालय पुगिन् । यहीँ फागुन १६ गते संस्थाको र विनोद पराजुलीको नाममा मारियले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएकी छिन् ।

मारियाको माग आफुले संस्थामा बालबालिका राख्न पाउनुपर्ने छ । तर संस्थाको विधानमा भने मरिया र पराजुलीले सहर्काय गरे बमोजिम केही कुरा उल्लेख गरिएको छैन । ‘संस्थाको र मेरो उद्देश्य बालबालिका र बेचबिखनमा परेका महिलालाई आश्रय दिनु हो’ सामाले भनिन्, ‘लक्ष्य अनुरुपको काम गर्न नपाए संस्था दर्ता गरेको के काम ?’

पराजुलीले आफुलाई घात गर्ने मनाश्यले नै संस्था सो बमोजिम दर्ता नगरेको उनको आरोप छ । सम्बन्धित निकायमा पटकपटक जाँदो गुनासो सुनुवाई नभएको सामाको गुनासो छ ।

‘म नेपाली राम्रो बुझ्दिन, पढ्न पनि सक्दिन, वडामा भएको बैठकमा के–के छलफल गर्नुहुन्छ,’ उनले सुनाईन्, ‘कसैले राम्रोसँग प्रतिक्रिया दिएको जस्तो लाग्दैन ।’

उसो त नेपालमा आएर बाहिरी नागरिकले त्यसरी आर्थिक संकलन गर्न पाउँदैनन् । त्यसको लागि नेपालसँग अनुमति लिनुपर्ने हुन्छ । मारियासँग भने उक्त अनुमति छैन । मारियाले संकलन गरेको आर्थिक सहयोग नेपालको कानुन विपरीत हो । आफु भने यसबारे अनविज्ञ रहेको मारियाको भनाइ छ ।

संस्था दर्ता भइसकेपछि विदशेबाट आएको सहयोग रकम कानुनत संस्थाको नाममा आउनुपर्ने हो । मारियाले भने त्यस्तो गरेको पाइएको छैन । सहयोग रकम पनि सिधैं उनको व्यक्तिगत खातामा आउने गरेको छ । यसबारे भने मारियाले आफुले बैंक स्टेमेनट, खर्च र सम्पूर्ण बिल देखाउन सक्ने दाबी गरेकी छिन् ।

संस्था उद्देश्य बमोजिम नचल्ने भए मारियाले आजसम्म उक्त जग्गामा तीनवटा संरचना निर्माण गर्दा ६० लाख रुपैयाँ खर्च भएको भन्दै क्षतिपुर्ति माग गरेकी छिन् । हालको मुख्य विवाद भनेकै सोही संरचना निर्माणमा भएको खर्च हो । सामाका अनुसार ३ वटा घर निर्माण भएपछि विनोदले निहुँ खोज्न थाले ।

यता संस्थाका अध्यक्ष विनोद पराजुली भने मारियाले विदेशमा आफनो संस्थाको नाम बेचेर आर्थिक संकलन गरेको बताउँछन् । संस्थागत हिसाबमा चल्ने भएपछि आर्थिक कारोबार पनि संस्थाको खाताबाट हुनुपर्ने उनको भनाई छ । पराजुलीको भनाईमा सामाले उठाएको रकम संस्थाको नाममा राखिनु पर्छ ।

‘संस्था दर्ता भइसकेपछि आर्थिक हिसाबकिताबबारे सोधपुछ गरेको थिए’ उनले भने, ‘हिसाबकिताब देखाउन नचाहेपछि विवाद भएको हो ।’ संस्थामा उल्लेख गरिएको सहकार्य विपरितको विधानबारे भने उनले पछिल्लो समय संस्थालाई बालगृह संचालन गर्ने अनुमति नदिएको बताए ।

नेपाल सरकारले पछिल्लो समय बालगृह संचालनलाई नियमन गरेको छ । बालगृह संचालन गर्नका लागि संस्था दर्ता सहित राष्ट्रिय बाल परिषद् मार्फत अनुमति लिनुपर्ने हुन्छ ।

यसविषयमा टुंगो लगाउनका लागि पोखरा महानगरपालिकाले वडा कार्यालय २३ मा पत्राचार गरेको थियो । वडाध्यक्ष विष्णुप्रसाद पराजुलीका अनुसार हालसम्म यसविषयमा कुनैपनि निर्णय भइसकेको छैन । सामाले संकलन गरेको आर्थिक सहयोग कानुन विपरीत भएको वडाध्यक्ष पराजुली बताउँछन् ।

‘उहाँले सरकारसँग अनुमति नलिई पैसा संकलन गर्नुभएको रहेछ,’ पराजुलीले भने, ‘संस्थासँग समेत आर्थिक समन्वय गर्न नखोजेको बुझियो, छलफलमा हाम्रो कुरा सुन्ने भन्दा आफ्नै अडानमा रहँदा समाधान गर्न गाह्रो भएको छ ।’

कमेन्टहरु
Loading...