बगर भाई खलक भेट्रान्स फुटबलको उपाधि मिया सान मियालाई

पोखरा । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकद्वारा आयोजित ‘चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ को उपाधि काठमाडौंको आई वोस मिया सान मियाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा मिया सान मियाले डिफेन्डिङ च्याम्पियन टि बर्गर ललितपुरलाई ४–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै मिया साान मियाले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ भने उपविजेता टी बर्गरले नगद ५५ हजार ५ सय ५५ का साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दुवै टिमबाट सहभागी पूर्व राष्ट्रिय खेलाडीको खेलमा पहिलो गोलको खाता खेलको १६ औैं मिनेटमा मिया सान मियाकाको तर्फबाट नवीन पाण्डेले खाता खोलेका थिए । निर्धारित २५–२५ मिनेटको खेलमा नवीन न्यौपानेले टिमका लागि २० औं मिनेटमा दोश्रो गोल थप्दा टी बर्गर करिब–करिब उपाधि होडबाट बाहिरिन पुगेको थियो । नवीन न्यौपानेले खेलको दोश्रो हाफको ३४ औं मिनेटमा मिया सान मियाले टिमका लागि तेश्रो गोल थपे । न्यौपाने फाइनल खेलको म्यान अफ दि म्याच समेत भएका छन् । यता ३–० ले पछि परेको टी बर्गरलाई खेलमा फर्काउने प्रयास गर्दै नरेन्द्र लिम्बुले १ गोल फर्काए पनि उपाधिका लागि त्यो पुरा हुन सकेन । खेलको दोश्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा नवीन पाण्डेले टिमको लागि चौथो गोल गर्दै उपाधि पक्का गरेका थिए ।

फागुन २४ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगितामा टी बर्गरका नरेन्द्र लिम्बुले उत्कृष्ट खेलाडी हुँदै नगद १० हजारका साथमा ट्रफी हात पारेका छन् । यसै गरी अन्य विद्यामा उत्कृष्ट मिडफिल्डर मिया सान मियाका राजेश खड्की, उत्कृष्ट गोल रक्षकमा मिया सान मियाका सञ्जीव खड्की, उत्कृष्ट फरवार्डमा मिया सान मियाका नविन न्यौपाने, उत्कृष्ट डिफेण्डरमा टी बर्गरका नरेश थापा भएका छन् । उत्कृष्ट हुने सबै विद्यागत खेलाडीले नगद ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

उपाधि विजेता र उपविजेताले दिए जितेको रकम कल्याणकारी कार्यलाई

‘चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ को उपाधि विजेता मिया सान मिया र उपविजेता टी बर्गरले जितेको रकम कल्याणकारी कामको लागि हस्तान्तरण गरेका छन् । मिया सान मियाले आफ्ना टिमका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपानेकी क्यान्सर पीडित आमाको उपचारका लागि हस्तान्तरण गरेको छ ।

टिमका कप्तान समेत रहेका नवीन पाण्डेले उक्त रकम सहकर्मी न्यौपानेलाई समापन समारोहमा हस्तान्तरण गरेका थिए । यसै गरी उपविजेता टोली टी बर्गरले पोखरामा महिला र बालबालिकाको क्षेत्रमा कार्यरत सञ्जिवनी समुहलाई हस्तान्तरण गरेको छ ।

प्रतियोगितामा विजेता खेलाडीलाई सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुंवर, संस्थाका अध्यक्ष दिलबहादुर गुरङ, तमु धि युकेका अध्यक्ष कमल गुरुङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, सहारा युकेका महासचिव धनु पुरन थकाली, गैर आवाशिय नेपाली संघ युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, संस्थाका महासचिव याम गुरुङ, भूतपूर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष खड्ग बहादुर रानाभाट, संस्थाका प्रमुख सल्लाहाकार दिनेश श्रेष्ठ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...