काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिस्टविरुद्ध लड्नुपर्ने समय आएका बताएका छन् । आज पार्टीको केन्द्रीय महिला विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कम्युनिस्टले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको आरोप लगाउँदै उनीहरुसंग लड्नुपर्ने समय आएको बताएका हुन् ।
हालको अवस्थामा मुलुकका लागि प्रजातन्त्र निकै महत्वपूर्ण भएको उनको भनाई थियो ।
वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुठा नारा लगाएर, नागरिकलाई विभिन्न सपना देखाउँदै बहकाएर आफूमात्र सत्तामा बसिरहने खेल खेलिरहेको उनको दावी थियो ।
कांग्रेसले नै अबको समयमा प्रजातन्त्र स्थायी बनाउन आवश्यक भूमिका खेल्नुपर्ने उनले बताएका छन् । नेपाली कांग्रेसले मात्र नेपालमा हालसम्म लोकतन्त्रका लागि लडिरहेको उनको दावी थियो ।
कांग्रेसलाई केही हतार नभएको बताउँदै उनले परिस्थिति आइपरेको खण्डमा सरकारको नेतृत्वबाट टाढा नजाने उनले बताएका छन् ।