माओवादी र जसपाको वार्ता निष्कर्षविहीन बन्यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा माओवादी केन्द्रबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ । वार्ताका क्रममा मधेस तथा जनजातिका विषयमा भने छलफल भएको बताइएको छ । जसपाका अध्यक्ष महन्त ठाकुरका अनुसार वार्ताका क्रममा माओवादी केन्द्रसंग आदिवासी जनजाति तथा मधेसका विषयमा कुराकानी भए पनि वाताए टुंगोमा लाग्न सकेन । वार्तास्थलबाट बाहिरिंदै गर्दा सञ्चारकर्मीसंग आफ्नो भनाई व्यक्त गर्दै अध्यक्ष ठाकुरले आफूहरु हाल मधेस संसद तथा प्रशासन लगायत कतै पनि नभएको बताएका छन् ।

आफूहरु सत्ता राजनीतिको केन्द्र नभएको उनले स्पष्ट पारेका छन् । ‘संसदमा पनि उहाँ ३ दलको नै वर्चश्व छ, प्रशासनमा पनि उहाँहरुको नै छ, राष्ट्रवादमा पनि उहाँहरु नै हुनुहुन्छ, हामी त कहीं पर्दै पर्दैनौं ।’ उनले भने, ‘छलपल जारी छ, हाम्रो समस्याको समाधान हुन्छ भने ठीकै छ, भएन भने उहाँहरुले जे गर्नुहुन्छ, त्यही हुन्छ ।’ ३ दलीय गठबन्धनका विषयमा समेत कुनै निष्कर्ष निस्कन नसकेको उनले बताएका छन् ।

यता माओवादी केन्द्रले भने जसपासंगको वार्ता सकारात्मक भएको बताएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलका अनुसार आजको वार्तामा जसपासंग नयाँ सरकार गठनका विषयमा सामान्य छलफल भएको हो । उनले संयुक्त सरकार बनाउने विषयमा समेत वार्ताका क्रममा छलफल भएको बताएका छन् । वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिगमनको प्रयत्नलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पनि जसपासंग सकारात्मक छलफल भएको उनले बताएका छन् ।

कमेन्टहरु
Loading...