काठमाडौं । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । आज बिहान बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री थापासहितका मन्त्रीलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।
त्यस्तै पार्टीले थापासहितका मन्त्रीलाई मन्त्रिपरिषदबाट फिर्ता हुन समेत निर्देशन दिएको छ । माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका तर पार्टीमा नफर्किएका सबै मन्त्रीलाई मन्त्रिपरिषदबाट बाहिरिन निर्देशन दिइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
माओवादी केन्द्रबाट गृहमन्त्री थापासहित मणि थापा, दावा लामा, प्रभु शाह तथा लेखराज भट्ट तथा गौरीशंकर चौधरी मन्त्री बनेका थिए ।
हिजोमात्र नेकपा एमालेले गृहमन्त्री थापालाई एमालेबाट नै प्रदेश ३ को इन्चार्ज तोकेका थिए । त्यस्तै २३ जना माओवादी केन्द्रका नेता तर माओवादीमा नफर्किकालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनयन गरेका थिए ।
स्थायी कमिटी बैठकले भोलि ११ बजे समेत बैठक आह्वान गरेको छ । यस्तै पर्सिका लागि पार्टीले तय गरेको राष्ट्रिय भेला स्थगित भएको छ । अर्को सुचना जारी नभएसम्मका लागि पर्सिका लागि तय भएको राष्ट्रिय भेला स्थगित गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।