काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक चैत्र १ गते बस्ने निर्णय गरेको छ । अन्तिम निष्कर्षमा पुुग्न बाँकी रहेको भए पनि केन्द्रीय कमिटीको बैठक चैत्र १ गते बस्ने गरेर छलफल जारी रहेको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् । पार्टीका शीर्ष नेताहरुसंग मिलेर छलफल भए पछि मात्र बैठकको एकीन मिति सार्वजनिक गरिने उनले बताए ।
सर्वोच्च अदालतले नेकपा एमाले तथा माओवादी केन्द्रबीचको एकतालाई बदर गरेर अलग–अलग तथा पहिले कै अवस्थामा पार्टीलाई फर्काइदिएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।
पछिल्लो राजनीतिक परिस्थितिका विषयमा बैठकमा छलफल हुने बताइएको छ । पार्टीलाई सर्वोच्च अदालतले ब्युँत्याइदिएको भए पनि एमालेका शीर्ष नेताबीच संवाद ठप्प छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले अन्य नेतासंग छलफल तथा सल्लाह नगरेर नै अगाडि बढिरहेको भन्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।
बैठकले पार्टीमा भएका विभिन्न समस्या तथा विवादलाई नयाँ ढंगले अगाडि बढाउने तथा राजनीतिक समस्याका बीच अन्य पार्टी छोडेर एमालेमा आएका तथा प्रधानमन्त्री ओलीलाई साथ दिएका नेताहरुलाई उचित जिम्मेवारी दिन सक्ने अनुमान गरिएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई केन्द्रीय कमिटीमा स्पष्ट बहुमत छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथमा लागेर सरकारविरोधी आन्दोलन गरेका पार्टी नेता नेपालसहित झलनाथ खनाल लगायतका अन्य नेतालाई सम्मानजनक व्यवहार गरिने ओली पक्षीय नेता सुवास नेम्वाङले बताएका छन् ।