नेपालमा अब कुनै अशान्ति छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २० औं स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटोमा अघि बढेको बताए । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उनले पृथकतावादी सोचलाई समेत टुंग्याइएको बताएका छन् ।

‘हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।’ यसका लागि सुरक्षा परिषद्को नीतिले उल्लेख्य काम गरेको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पारेका छन् । छिमेकी देशसितको सम्बन्ध सुमधुर बनाइएको जनाउँदै उनले केही समस्या भए वार्ताका माध्यमबाट नै हल गरिने स्पष्ट पारेका छन् । उथलपुथल र उतारचढावका समयमा परिषद्को सचिवालय स्थापना भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले हासिल गरिएका अनुभवका आधारमा काम गर्दै अघि बढ्न सुझाव दिएका थिए । नेपाली सेनाको परिचालन र प्रयोग सही ढंगले हुँदै आएको बताउँदै उनले नेपाल विश्वमा शान्ति स्थापनाका पक्षमा रहेको स्पष्ट पारे । ‘ठूलो होस् वा सानो देश, विश्वमा न्यायोचित हकको रक्षाका लागि मात्र सेना परिचालन गरिनुपर्छ ।’ उनले भने । विश्वमा अर्काको अहित हुने गरी सेनाको परिचालन गर्न नहुनेमा उनले जोड दिए ।

असहज र अप्ठयारो अवस्थामा सेनाको प्रयोग गरिँदै आएको प्रसंग जनाउँदै प्रधानमन्त्री ओलीले सुरक्षा, सेवा र निर्माणका काममा सेना अहोरात्र खटिँदै आएको स्मरण गरेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली सेनाले शान्ति स्थापनार्थ उल्लेखनीय योगदान दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भने, ‘सेनाले आफू जोखिम मोलेर भए पनि शान्ति स्थापनाका लागि काम गर्दै आएको छ ।’

विश्वसनीय र भरपर्दो निकाय नेपाली सेनाले सेवा र निर्माणका क्षेत्रमा जनताको मन छुने गरी काम गर्दै आएको प्रधानमन्त्री ओलीले बताएका छन् । कतिपय समयमा सेनालाई अनावश्यक विवादमा तान्ने कामसमेत भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सेनाले आफ्नो प्रतिष्ठा जोगाएर काम गर्दै आएको बताए । ‘सेना जस्तो संस्थालाई वादविवादमा तान्न उचित हुन्न ।’ उनले भने । जनतालाई भ्रममा पार्ने तत्वसँग सचेत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले मूल कानुन संविधान मानेर सबै अघि बढ्नुपर्ने सुझाव दिएका छन् । परिषद्को स्थापना लड्न र भिड्नलाई मात्र नभएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यसको काम शान्ति सुरक्षाको वातावरण कायम गर्नु भएको जनाए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले परिषद्को सचिवालयको हाताभित्र वृक्षरोपणसमेत गरेका थिए । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परिषद्का सदस्य गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शंकरदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षासचिव एवं परिषद्का सदस्य–सचिव रेश्मीराज पाण्डे, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । परिषद् सचिवालयको स्थापना २०५८ फागुन २७ गते गरिएको हो । रासस

कमेन्टहरु
Loading...