काठमाडौं । पूर्व माओवादी नेता समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले फेरी पनि माओवादी केन्द्रमा फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
माओवादी केन्द्रले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर पनि आफू फर्किने कुनै सम्भावना नभएको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै स्पष्ट पारेका हुन् । के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीसंग छलफल जारी रहेको तर समर्थन फिर्ता भए पनि माओवादीमा आफू नफर्किने उनको स्पष्टोक्ति रहेको थियो ।
भट्ट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
नेकपा ऋषि कट्टेलले पाउने गरेर नेकपा एमाले तथा माओवादी केन्द्रलाई सर्वोच्च अदालतले फैसला गरेपछि वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका नेताहरुले के गर्छन् भन्नेमा सर्वत्र चासो छ ।
सञ्चारकर्मीले सांसद पद गएको अवस्थामा पनि एमाले नछोड्ने त भन्ने प्रश्न गरेकोमा त्यसको जवाफ दिंदै उद्योगमन्त्री भट्टले माओवादी केन्द्रमा नफर्किंदा पद जान्छ वा जान्न भन्ने विषयमा छलफलमा नै रहेको बताएका छन् । आफूहरुले अझै पनि पार्टी एकता नै चाहेकाले एमाले तथा माओवादीबीच हुन सक्ने एकताको सम्भावनाका विषयमा छलफल जारी राखिएको समेत उनले जानकारी दिएका छन् ।