नेपालमा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या उत्साहजनक

काठमाडौं । कोरोना कोभिड–१९ विरुद्धको खोप लगाउन सर्वसाधरणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ । दोस्रो चरणको खोप यही फागुन २३ गतदेखि सञ्चालन भइरहेको छ ।

६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइने खोपमा अहिले दैनिक २ लाखभन्दा बढीले खोप लगाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार खोपप्रति नकारात्मक धारणा परिवर्तन भएपछि खोप लगाउने संख्यामा वृद्धि भइरहेको छ । ‘पहिले खोपबारे नकारात्मक सोचका कारणले खोप लगाउन त्यति उत्साह थिएन ।’ उनले भने, ‘तर अहिले ज्येष्ठ नागरिक बिहानै खोप लगाउन खोप केन्द्र गइरहनुभएको छ ।’

उनका अनुसार नेपालमा लगाइने खोप ‘कोभिशिल्ड’ को प्रभावकारिता पनि ७१ प्रतिशत रहेकाले खोप लगाउने संख्या वृद्धि भएको हो । अहिले भारतको सिरम इन्स्टिच्युटबाट खरीद गरी ल्याइएको खोप ‘कोभिशिल्ड’ लगाउन थालिएको छ । ‘कोभिशिल्ड’ खोप प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई तथा सरकारका मन्त्रीगणसमेतले लगाइसकेका छन् ।

सरकारले भारतसँग अनुदानमा १० लाख मात्रा र भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाबाट १० लाख खोप मात्रा ‘कोभिशिल्ड’ खरीद गरी ल्याइसकेको छ भने १० लाख मात्रा ल्याउन बाँकी रहेको छ । यस्तै कोभ्याक्स सुविधामार्फत् ३ लाख ४८ हजार मात्रा खोप नेपाल आइसकेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको पहुँच पु¥याएको र खोपबारे भएको शंका मानिसमा हटेपछि लगाउनेको संख्या वृद्धि भएको छ ।

दोस्रो चरणको खोप अभियानमा सरकारले अहिले हिमाली भेगका १५ जिल्लाका ५५ वर्षभन्दा माथि र अन्य भेगका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई करीब ४ हजार खोप केन्द्रबाट खोप लगाइरहेका छन् । सो खोप अभियानमा १६ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । ‘नयाँ खोपबारे के हुन्छ कसो हुन्छ भनेर मानिसमा केही जिज्ञासा आएको थियो ।’ उनले भने, ‘तर खोप लगाएपछि कसैलाई सामान्य असर बाहेक जटिल समस्या नदेखिएकाले मानिसमा खोप लगाउन उत्साह आएको हो ।’

खोप लगाएको ठाउँमा सुन्निने, रातो हुने, दुख्ने, थकाई र आलल्य महसुस हुने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, मांशपेशी वा जोर्नी दुख्ने, फ्लु जस्ता लक्षण देखिने गर्छ । खोप शाखा प्रमुख डा.गौतमले कोभिशिल्ड खोप लगाएपछि सामान्यभन्दा जटिल समस्या नदेखिएको बताए । उनका अनुसार अहिले दैनिक २ लाखदेखि २ लाख ५० हजारसम्म मानिसले खोप लगाइरहेका छन् । अहिलेसम्म ११ लाख मानिसले खोप लगाइसकेका छन् ।

सरकारले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको छ । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म १.४ प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराइएको छ । उक्त अभियानमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो । खोप स्वास्थ्य तथा सामाजिक क्षेत्रका तीन प्रतिशत, ५५ वर्षभन्दा माथिका १७ प्रतिशत, ४० वर्षदेखि ५४ वर्षका ९.५५ प्रतिशत, १५ देखि ३९ वर्ष उमेर समूहका ४२.६२ प्रतिशतलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले मानिसको खोप लगाउने प्रति आकर्षण बढेकोले खोप पु¥याउन नसकिने हो कि भन्ने लागेको बताएका छन् । सरकारले खरीद गरेको १० लाख मात्रा ‘कोभिशिल्ड’ चाँडै नै आउने उनको भनाई रहेको छ । यस्तै सरकारले ५० लाख मात्रा ‘कोभिशिल्ड’ खोप खरीद गर्ने प्रक्रियासमेत अगाडि बढाइसकेको छ । यसैगरी कोभ्याक्स सुविधामार्फत् १ करोड ३० लाख मात्रा खोप नेपालमा आउने भएको छ । पहिलो मात्रा लगाएको ८ देखि १२ हप्ताभित्र लगाएको खोप बढी प्रभावकारी हुन्छ ।

खोप लगाएपछि पनि कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताएका छन् । नेपालमा अहिलेसम्म कोभिड १९ को २ लाख ७४ हजार ८ सय ६९ जनालाई संक्रमण, २ लाख ७० हजार ९ सय ७८ जना संक्रमणबाट निको र ३ हजार १२ जना संक्रमणबाट निको भइसकेका छन् । यस्तै नेपालमा निको हुने दर ९८.६ प्रतिशत रहेको छ । रासस

कमेन्टहरु
Loading...