पशुपतिनाथ मन्दिरमा साधुसन्तको चहलपहल

काठमाडौं । फाल्गुन कृष्ण एकादशीका दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री संकल्प गरेकी छिन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री राष्ट्राध्यक्षले संकल्प गर्ने प्राचीनकालदेखिको विधि छ ।

संकल्पपछि देशभरका शिवालयमा महाशिवरात्रिको चहलपहल सुरु हुन्छ । राष्ट्रपतिले महाशिवरात्रिको संकल्प गरेसंगै मंगलबार बेलुकीदेखि नै पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तलाई भोजनसहित धुनीको व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भने आज बिहानदेखि भोजन र आज बेलुकीदेखि धुनीको व्यवस्था गरिने गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिएका छन् ।

थापाथली क्षेत्रका बैरागी, सन्न्यासी, उदासी र नाथ सम्प्रदायका अखडामा पनि आज बिहानदेखि नै साधुसन्तलाई भोजनसहित बस्ने एवं बेलुकी धुनी जगाउने व्यवस्था गरिने छ । मंगलबार राष्ट्रपति भण्डारीले गुठी गोश्वारा कार्यालयबाट खर्पनमा लगिएको नरिवलको जटा, पीताम्बर, फूल, प्रसाद, अक्षता, धूपदीप, कपूरलगायत सामग्रीको संकल्प गरेका थिए ।

यसैगरी साधुसन्तलाई संस्थानका तर्फबाट प्रदान गरिने शंख, घण्ट, चमर, राडपाखी, त्रिशूल, कमण्डलु र पहेंलो वस्त्रसमेत संकल्प गरेको कार्यालय प्रमुख आचार्यले बताए । संकल्पपछि गुठी गोश्वारा कार्यालय र पशुपतिनाथ अमालकोट कचहरीका कर्मचारीलाई राष्ट्रपति भण्डारीले टीका एवं प्रसाद लगाइदिएका थिए । कोरोनाको जोखिम कायमै भए पनि पशुपति क्षेत्र र थापाथलीमा विगत वर्षमा जत्तिकै साधुसन्त महाशिवरात्रि मनाउन आएको कार्यालयले जनाएको छ । विशिष्ट साधुसन्त भने कम देखिएको जनाइएको छ । रासस

कमेन्टहरु
Loading...