काठमाडौं । नेपालमा २ करोड ४७ लाख ३५ हजार जनसंख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक अुनसार मंसिर मसान्तका तुलनामा पुस महिनामा ३ लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मंसिरमा कूल २ करोड ४३ लाख ४७ हजार १ सय ५७ जनाको पहुँचमा इन्टरनेट सेवा थियो ।
कूल जनसंख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५ सय ३१ लाई आधार बनाएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ ।
गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव ३४ प्रतिशत छ । १ करोड १२ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ३४ हजार र एनसेलको २५ लाख ६६ हजार रहेको जनाइएको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख ८९ हजार १ सय ३ र इभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय ७३ रहेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका रहेका छन् । गत पुस मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८६ हजार १ सय ३९ रहेका छन् ।
नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार २ सय ५६ र स्मार्ट टेलिकमका २ लाख १९ हजार रहेका छन् । यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ६८ प्रतिशत छ ।
यसमा एडिएसएलका ८ लाख ६४ हजार र एफटिटिएच इन्टरनेट ५६ लाख ११ हजार रहेका छन् । रासस