पशुपतिमा कोरोनाले १ वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण १ वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिएका छन् । हाललाई १ हजार १ सयदेखि २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा १ हजार १ सयदेखि २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ । कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो ।

फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने ५ हजार १ सय र ११ हजारका गरी २ किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले जानकारी दिएका छन् । महाशिवरात्रिका दिन ५ हजार १ सयको रसिद काटी विशेष पूजा गर्नेबाट २ र ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट ४ जना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक ९ देखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट ९ करोड ४० लाख ९३ हजार १ सय ४५ आम्दानी भएको थियो ।

गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करीब ९ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि ६ करोड १ लाख ८९ हजार ४ सय ७५ आय भएको कोषाध्यक्ष थापाले बताएका छन् । रासस

कमेन्टहरु
Loading...