काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा तथा सरकाबीच वार्ता जारी छ । मंगलबार अनौपचारिक रुपमा दुवै पक्षबीच केही समय वार्ता भएको थियो । आज कडा सुरक्षा घेराका बीच एक सरकारी भवनमा सरकार तथा उक्त समुहबीच वार्ता जारी रहेको छ । वार्ता कुन स्थानमा राखिएको छ भन्ने खुलाइएको छैन । गोप्य नै राखिएको छ ।
वार्तामा विप्लव समुहका विभिन्न मागका विषयमा कुराकानी तथा छलफल हुने बताइएको छ । के–कस्ता विषयमा कुराकानी तथा छलफल भयो भन्ने विषयमा वार्ता भाँडिन सक्छ कि भन्ने आशंकाका कारण निष्कर्षमा पुगेपछि मात्र सार्वजनिक गरिने स्रोतले जानकारी दिएको छ ।
भूमिगत रुपमा रहेको विप्लव समुहले सरकारसंग आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, सरकारले विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका उक्त समुहका नेता तथा कार्यकर्तालाई रिहा गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।
सरकारले उक्त समुहसंगको वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।
विप्लव समुहले पनि सरकारले टोलीको घोषणा गरेको केही समयमा नै उक्त समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड तथा उदयबहादुर चलाउने ‘दीपक’ रहेको २ सदस्यीय टोलीको घोषणा गरेको थियो । विप्लव समुह भूमिगत रुपमा नै रहेको छ ।
सरकारसंग वार्ताको टुंगो लागेपछि कडा सुरक्षाका बीच उक्त समुहको वार्ता टोली काठमाडौं पुगेको थियो ।