तनहुँ संवादाता ।
ग्रामिण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न थप्रेकमा बैठक गरिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले ८५ औ नगर कार्यपालिकाको बैठक वडा नम्बर १ को थप्रेक सामुदायिक होमस्टेमा गरेको हो । नगरपालिकाले थप्रेकको पर्यटन प्रर्बद्धनका लागि मंगलबार कार्यपालिकाका सम्पुर्ण सदस्यहरु उपस्थित भै थप्रेक भ्युटावरसँगै रहको सामुदायिक भवनमा बैठक बसेको नगरपालिकाका प्रवक्ता खिमवहादुर कुमालले जानकारी दिए ।
उनका अनुसार बैठकले प्रथम मेयर कप अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता, खुलाब्याडमिन्टन प्रतियोगिता र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मिति तोकेको छ । प्रथम मेयर कप भलिबल र ब्याडमिन्टन प्रतियोगिता आगामी चैत १५ देखि सुरु भै १७ गतेसम्म सचालन हुनेछ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भने फागुन २७ र २८ गते हुनेछ ।
नगरपालिकाको समस्याको रुपमा रहेको फोहरमैलाव्यवस्थापनका लागि नगरमा प्रस्ताव पेश गरेका संस्थासँग केही शर्तसहित छलफल गर्ने र छिट्टै टुंगो लगाउने निर्णय भएको प्रवक्ता कुमालले बताए । त्यस्तै संघीय सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाले शिक्षाको क्षेत्रमा छुट्याएको बजेटलाई बाँडफाड समेत गरिएको छ ।
कार्यपालिकाको बैठक नगरपालिकाको कार्यालय बाहिर बसेको यो पहिलोपटक हो । अव प्रत्येक वडामा बैठक बस्ने नगरप्रमुख किसान गुरुङले जानकारी दिए ।
‘धार्मिक तथा पर्यटकीय क्षेत्रको खोजी गरी त्यहाँको पर्यटन प्रवद्र्धन गर्न प्रत्येक वडामा पुगि बैठक गर्नेछौ,’ उनले भने । पछिल्लो समय ग्रामिण पर्यटन उपयुक्त मानिएको छ ।
त्यसैले होमस्टे प्राथमिकतामा पर्ने गरेको छ । थप्रेक पर्यटनको सम्भावना बोकेको ठाउँ भएकाले यहाँको पर्यटनलाई प्रर्बद्धन गर्न बैठकले महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष रविचन्द्र पौडेलले बताए ।