पोखरा । के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा सोमबारदेखि पोखरामा सुपर जेनरल इन्टर क्लब टी–ट्वान्टी क्रिकेट लिग–२०२१ सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा चितवन क्रिकेट क्लब विजयी भयो । चितवनले स्याँग्जा क्रिकेट क्लबमाथि ६६ रनको फराकिलो जित निकालेको हो ।
पहिला व्याटिङ गरेको चितवनले १ सय ५४ रनको योगफल तयार पारेको थियो । चितवनको तर्फबाट राजेश ढकालले ८ चौका प्रहार गर्दै ४४ रनको महत्वपूर्ण पारी खेले भने रोविन शर्माले ३१ रन जोड्दै उनलाई राम्रो साथ दिए । स्याङ्ग्जाका बलरहरु विष्णु पाण्डेले ४ तथा अशोक श्रेष्ठ, सुरज गुरुङ र दिपेश क्षतिले समान १–१ विकेट लिए । जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्याएको स्याङ्जा १५.२ ओभरमा ८८ रनमै अलआउट भयो । स्याङ्जाको तर्फबाट विक्रम थापा र सौजन्य रेग्मी दुवै जनाले २४÷२४ रनको योगफल तयार पारको थिए ।
चितवनको बलिंङतर्फ दिपेश श्रेष्ठ र कृतन गुरुङले ३/३ विकेट लिए भने संघर्ष पौडेल र अनुज चन्द्रले पनि २/२ विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा चितवनका राजेश ढकाल विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच हुन सफल भए ।
यसअघि नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतमले बलिङ तथा प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अलिले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । त्यस्तै कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयान्त सिग्देलले अफिसियल दिलिप अग्रहरीलाई म्याच बल प्रदान गरेका थिए । आयोजक के.एन. स्पोर्टसका सञ्चालक समेत रहेका प्रतियोगिता संयोजक कमल थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा क्रिकेट खेलाडी प्रविण ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।