पोखरामा पहिलोपटक मित्रमिलन सहकारीले सुरु ग¥यो क्युआर कोड सेवा

पोखरा । पोखरामा पहिलोपटक मित्र मिलन सहकारीले क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

पोखरा ९ नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले इन्फोडेभलपर्स प्रा.लिसंगको सहकार्यमा सदस्यलाई क्युआर कोड सुविधा सुचारु गरेको हो । आज आयोजित कार्यक्रममा इन्फोडेभलपर्स प्रा.लि पोखरा शाखाका प्रमुख सुवास आचार्यले संस्थाका अध्यक्ष रमण पौडेललाई क्युआर कोड हस्तान्तरण गरी सेवा सञ्चालन सुचारु भएको छ ।

सहकारी क्षेत्रमा विभिन्न नविनतम प्रविधि भित्र्याएको इन्फोडेभलपर्स प्रा.लिका शाखा प्रमुख आचार्यले सहकारीले सुरु गरेको क्युआर कोड यस क्षेत्रको लागि नयाँ प्रविधि भएको र सहकारीलाई नगद रहित कारोबार गर्न कोशेढुंगा सावित हुने बताए ।

इ–सेवाका पोखरा शाखा प्रमुख विनोद बोहोराले फोनपे क्यु आर मार्फत मित्र मिलन सहकारीका ३५ सय सदस्यहरुले यो सुविधा लिन सक्ने बताए । सहकारीले सुरु गरेको प्रविधिमैत्री क्युआर कोड सेवाले सहकारीका सेवाग्राहीलाई नगद झिक्न चेक र एटिएम कार्ड बोक्ने झण्झटबाट मुक्ति दिने सहकारीका उपाध्यक्ष विजय लम्सालले बताएका छन् ।

उपाध्यक्ष लम्सालले क्युआर कोड सेवा छिटो, सजिलो, सरल र सुलभ भएकाले सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे । प्रविधिमैत्री र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्येश्यले यो सुविधा प्रदान गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बताए ।

अधिकारीले सहकारीबाट छिटै इ–टेलर सुविधा प्रदान गर्ने तथा निकट भविष्यमा नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सहकारीलाई अघि बढाउने उल्लेख गरे । क्युआर कोड सुविधा प्रदान गरेपछि सहकारी संस्थाका सदस्यले नेपालभरी रहेका जुनसुकै फोनपे क्युआरमा सहकारीको मोबाइल एपमार्फत् भुक्तानी लिन दिन सक्नेछन् ।

यस अघिनै सहकारी संस्थाले निशुल्क रुपमा सदस्यहरुलाई मोबाइल एपमार्फत् बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, इन्सुरेन्सको बिल भुक्तानी गर्ने, मोबाइलमा ब्यालेन्स रिचार्ज गर्ने, रकम राखेको झिकेको जानकारी पाउने लगायतका सेवा दिंदै आएको थियो ।

यस्तै खाताको स्टेटमेन्ट हेर्ने, ब्यालेन्स हेर्ने, चेक अनुरोध तथा रद्य गर्ने, सहकारीको खाताबाट जुनसुकै बैंकमा रकम टान्सफर गर्ने, इ–सेवा, खल्ती वालेटमा लोड गर्न मिल्ने, हवाई टिकट बुक गर्न मिल्ने, संस्थाको बारेमा सुचना जानकारी प्राप्त गर्ने साथै संस्थालाई सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सकिने सुविधा प्रदान गर्दै आइरहेको थियो ।

कमेन्टहरु
Loading...