अध्यक्षविरुद्ध आरोपपत्र पेश गरेर पार्टीलाई सखाप पार्ने खेल सुरु गरेः गृहमन्त्री थापा

पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरेर अगाडि बढ्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटनको निर्णयलाई आफूहरुले स्वीकार गरेर अगाडि बढ्ने भए पनि सो निर्णयलाई मुलुकलाई झनै अस्थिरताको बाटोमा अगाडि बढाउन मद्दत गरेको उनले दावी गरेका हुन् ।

वर्तमान सरकारको उद्देश्य मुलुक तथा नागरिकलाई समृद्ध बनाएर अगाडि बढ्नु भएको उनले बताएका छन् । सरकारको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई आत्मसाथ गरेको समाजवाद बिना विकास सम्भावना नभएको गृहमन्त्री थापाको दावी रहेको थियो ।

उनले कार्यक्रममा आफ्नो कार्यकर्तालाई सम्बोधन गर्दै सामन्तवादको बाटो रोज्ने या समाजवादको बाटो रोज्ने भन्ने विषयको विचार आफैंमा निहीत भएको बताउँदै अब कित्ता क्लियर गरेर हिंड्नुपर्ने समय आएको बताएका छन् ।

प्रचण्ड–नेपाल समुहका नेतातर्फ संकेत गर्दै गृहमन्त्री बादलले केही नेताहरु फुट तथा गुटको पक्षमा अगाडि बढेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपामा हालको समस्या उत्पन्न भएको उनले आरोप लगाएका छन् ।

पार्टीका प्रथम अध्यक्षलाई विभिन्न आरोप लगाएर १९ बुंदे आरोपपत्र प्रस्तुत गर्दै नेकपालाई नै सखाप पार्ने गरेर प्रचण्ड–नेपाल पक्ष अगाडि बढेको थापाको आरोप रहेको थियो । आफूहरु अझै पनि पार्टी एकता हुनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढिरहेको बताउँदै गृहमन्त्री थापाले राष्ट्रवाद तथा राष्ट्रलाई आफ्नोमात्र स्वार्थ देख्नेहरुको चंगुलबाट जोगाउनुपर्नेमा उनले जोड दिएका छन् ।

कमेन्टहरु
Loading...